काठमाडौँः स्वीट्जरल्याण्ड सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई एक अर्ब ८८ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेसागत तालिममा खर्च हुनेछ । मुलुकका बेरोजगार युवा वर्गलाई प्राविधिक तथा व्यवसायिक तालिम प्रदान गर्न स्वीस सरकारबाट अनुदान प्राप्त हुन लागेको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्माले बताए । सामाजिक-आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औंल्याउँदै परियोजनाबाट युवा वर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

औद्योगिक प्रशिक्षार्थी तालिम, अल्पकालीन पेशागत तालिम, कामदारको सीप अभिवृद्धि, पेसागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाताबीच सहकार्य, उद्योग(व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रणालीसमेत परिसयोजनामार्फत कार्यान्वयन हुने उनले बताए । अनुदान सहयोगसम्बन्धी सम्झौतामा महाशाखा प्रमुख शर्मा र यहाँस्थित स्वीट्जरल्याण्डका कार्यबाहक राजदूत सिल्भाना हगले हालै हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ । -रासस