प्योङयाङः उत्तर कोरियाले आफ्नो पूर्वी तटमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

क्रुज क्षेप्यास्त्र परीक्षण गरेको केही दिनमै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली जोइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पुष्टि गरेको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो कार्यलाई ‘हिंसात्मक’ भन्दै यसले त्यस क्षेत्रको शान्ति र सुरक्षामा खतरा उत्पन्न गरेको बताए । क्षेप्यास्त्र कुन स्थान लक्षित थियो भन्ने प्रष्ट भएको छैन, तर जेएससीले आफ्नो सेना अमेरिकासँगको सहकार्यमा पूरै तयारी अवस्थामा रहेको जनाएको थियो । यो उत्तर कोरियाले यो हप्तामा गरेको दोस्रो हतियार परीक्षण हो । गएको सोमबार जापानसम्म प्रहार गर्न सक्ने लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

क्रुज क्षेप्यास्त्रले पनि आणविक हतियार वहन गर्न सक्ने विज्ञहरू बताउँछन् । तर, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज क्षेप्यास्त्र परीक्षण गर्न निषेध गरेको छैन । ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणले उत्तर कोरियाको आणविक क्रियाकलापलाई नियन्त्रण गर्ने संयुक्त राष्ट्रसंघको संकल्पलाई उल्लंघन गरेको छ । उत्तर कोरियाले खाद्यान्न अभाव र गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । यस्तो अवस्थामा कसरी हतियारहरूको विकास गर्न सक्षम भइरहेको छ भन्ने प्रश्नहरू उब्जाएको छ । उत्तर कोरियाले एक वर्षभन्दा बढी समय एक्लिएर बिताएको छ ।

उसले कोरोनाभाइरस फैलन नदिन निकट सहयोगी चीनसँगको अधिकांश व्यापार पनि कटौती गरेको छ । गएको मार्चमा प्योङयाङले प्रतिबन्धहरू अवज्ञा गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त कदमको अमेरिका, जापान र दक्षिण कोरियाले कडा निन्दा गरेका थिए । गएको महिना संयुक्त राष्ट्रसंघको आणविक नियोगले उत्तर कोरियाले आणविक हतियारहरूको लागि प्लुटोनियम उत्पादन गर्न सक्ने आणविक भट्टी पुनः सञ्चालन गरेको देखिएको जनाएको थियो । -बीबीसीबाट