इटहरीः सस्तैमा शेयर उठाउने अवसर पर्खेर बसेका लगानीकर्ताको लागि जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले साधारण शेयर लिलामी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण समूहको कुल तीन करोड ६२ लाख २९ हजार सात सय २४ कित्ता शेयर लिलामी गर्ने भएको हो । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार सात सय २४ कित्ता र संस्थापक समूहको तीन करोड ३० लाख कित्ता शेयर लिलामीमा बिक्री गर्नेछ । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ । एआईडीसीएलको शेयर खरिद गर्न चाहनेले असोज ७ गतेदेखि असोज १४ गतेसम्म लिलामीको बोलपत्र पेस गर्न सक्नेछन् ।

कम्पनीले शेयरको मूल्य न्यूनतम एक सय रुपैयाँलाई तोकेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बताएको छ । शेयर खरिदका लागि ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौँबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिनेछ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने बताइएको छ ।

सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने कुनै हद तोकिएको छैन । एचआईडीसीएलले साउन ५ देखि भदौ ८ गतेसम्म १००% हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले कुल ११ करोड कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा सात करोड ३७ लाख ७० हजार दुई सय ७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । उक्त हकप्रद शेयर भने भदौ २६ गते बाँडफाँट भएको थियो ।