इटहरीः मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले प्रदेश नम्बर १ का सुनसरी जिल्लाको झुम्का र इनरुवा साथै मोरङ्ग जिल्लाको विराट चौकमा गरी ३ शाखा भोलि उद्घाटन गर्ने भएको छ ।

प्रदेश १ का तीन शहरहरु इटहरी, धरान र विराटनगरमा शाखा कार्यालय खोलिसकेको कम्पनीले असोज १ गते शुक्रबारबाट ३ शाखा थप गरी प्रदेश १ मा ६ वटा शाखा कार्यालय पुर्याउन लागेको कम्पनीका इटहरी शाखा प्रबन्धक दीपक खड्काले जानकारी दिए । काठमाडौँको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड काठमाडौँ, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम , भैरहवा, नवलपुरको गैडाकोट, भरतपुर र पर्सामा शाखा रहेका थिए भने अब थप ३ सहित शाखा संख्या २२ रहनेछ ।

मञ्जुश्री फाइनान्स लिमिटेडले भर्खरै मात्र नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिम चौक भरतपुर, र पर्सा बजार शाखाको कारोबार प्रारम्भ गरेको थियो । २०७८ साल आषाढ मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्ता पूँजी भएको कम्पनीले राष्ट्रियस्तरको कारोबार अनुमति पाएको छ । असार मसान्तसम्ममा फाइनान्सले रु ८.९१ ऋर्ब निक्षेप संकलन गरी रु ७.९५ अर्ब कर्जा परिचालन गरेको बताएको छ । भोलि हुने शाखा कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष निरौला तथा सञ्चालक समितिका पदाधिकारीले गर्ने इटहरी शाखा प्रबन्धक खड्काले जानकारी दिए ।