फुङ्लिङः कोरोना महामारीका कारण बन्द गरिएको ताप्लेजुङस्थित प्रशिद्ध धार्मिक तीर्थस्थल पाथीभराको दर्शन आज (शुक्रबार)देखि खुला गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।

कोरोनाको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ । पाथीभरा दर्शनका लागि दसैं–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ । यो समयमा हजरौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् । -रासस