अमेरिकाले काबुलको ड्रोन आक्रमणमा निर्दोष नागरिक मारिएको स्वीकार गरेको छ । सुरुमा आतंकवादी मारिएको दाबी गर्दै आएको अमेरिकाले अन्ततः अनुसन्धानपछि सर्वसाधारण मारिएको स्वीकार गरेको हो ।

अफगानिस्तानबाट फिर्ता हुनु अघि अगस्ट २९ मा अमेरिकाले काबुल विमानस्थल नजिकै गरेको ड्रोन आक्रमणमा १० जनाको मृत्यु भएको थियो । यूएस सेन्ट्रल कमान्डको अनुसन्धानले सो आक्रमणमा एकजना सहायताकर्मी जमैरी अहम्मदी र उनको परिवारको बालबच्चासहित नौ जना सदस्य गरी दश जना निर्दोष व्यक्तिहरू मारिएको पत्ता लगाएको हो । मारिनेमा सबैभन्दा कम उमेरका बच्चा सुमाया दुई वर्षका थिए । ज्यान गुमाउनेमा एकजना अमेरिकी फौजका अनुवादक थिए । आतंकवादी मारिएको भन्ने अमेरिकी अधिकारीको दाबीलाई खण्डन गर्दै अमेरिकी मिडियाहरूले आक्रमणमा सहायताकर्मी मारिएको बताएका थिए । अमेरिकी सञ्चार माध्यमको खबरलाई आधार मानी चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले यस मामिलामा संयुक्त राष्ट्रसंघले स्पष्टीकरण दिनुपर्ने र इन्टरनेशनल कोर्ट अफ जस्टिसले अनुसन्धान गर्नुपर्ने माग गरेको थियो । काबुल विमानस्थलमा भएको घातक आतंकवादी आक्रमणको केहीदिनपछि अमेरिकाले ड्रोन आक्रमण गरेको थियो । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरे पनि अमेरिकाले हतारहतार २० वर्षे अफगान बसाई टुङ्ग्याउनुअघिको त्यो अन्तिम अमेरिकी आक्रमण थियो । 

यूएस सेन्ट्रल कमान्डका जेनेरल केनेथ म्याकेन्जीले अमेरिकी खुफियाले आइएस–केसँग सम्बन्धित भएको विश्वासमा ती सहायताकर्मीलाई आठ घण्टासम्म पछ्याएको बताए । ती व्यक्तिको कार आईएस–केसँग जोडिएको परिसरमा देखिएको र उसको गतिविधि काबुल विमानस्थलमा आक्रमण गर्ने आतंकवादी समूहको योजनाको बारेमा अन्य खुफिया सूचनासँग जोडिएको अनुसन्धानले पत्ता लगाएको छ । निगरानीको क्रममा मानिसहरूले सो कारमा विस्फोटक पदार्थ लोड गरेको भनिएको थियो । तर, अनुसन्धानले ती विस्फोटक पदार्थ नभई पानीका कन्टेनरहरू भएको पुष्टि गरेको छ । जेनेरल म्याकेन्जीले उक्त आक्रमणलाई अत्यन्त दुःखपूर्ण भूल भनी व्याख्या गरेका छन् । यस आक्रमणमा तालिबानको सहभागिता नरहेको उनको भनाइ छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले एक विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेका छन् । उनले अहमदको आइएस–केसँग कुनै सम्बन्ध नरहेको र त्यस दिनको उनको गतिविधि पूरै अहानिसकारक (हानी नगर्ने) रहेको र आफूहरूले सामना गर्नुपर्ने विश्वास गरिएको आसन्न खतरासँग पटक्कै सम्बन्ध नरहेको बताएका छन् । “हामी क्षमायाचना गर्छौ र यो भयानक भूलबाट पाठ सिक्न प्रयास गर्नेछौँ,” उनले भनेका छन् । -बीबीसीबाट