दुहबीः दुहबी नगरपालिका अगाडि रहेको न्यु विकास ज्वेलर्समा शनिबार राती चोरी भएको छ । २ किलो चाँदी र ५ आना सुन चोरी भएको ज्वेलर्सका सञ्चालक विकास स्वर्णकारले जानकारी दिएका छन् । सोही पसलको छेउमा रहेको शिवशक्ति ज्वेलर्समा पनि ताला फुटाएर चोरीको प्रयास भएको थियो ।
८ महिना अगाडि पनि सोही स्थानमा रहेको दीपक ज्वेलर्समा समेत चोरी भएको थियो । १ साता अघि दुहबी–३ घर भएका मस्तकिम मन्सुरीको आफ्नै घर अगाडि रोकिराखेको पल्सर मोटरसाइकल चोरी भएको थियो ।
यसैगरी, गढी–२ घर भएका अक्षय चौधरीको आर वान फाइब मोटरसाइकल पनि चोरी भएको थियो । यसरी बारम्बार चोरीका घटना भएपछि सुनचाँदी व्यवसायीले इलाका प्रहरी कार्यालय दुहबीलाई दुहबी नगरपालिका अगाडि खालि रहेको प्रहरी बिटमा एक जना प्रहरी राख्न आग्रह गरेका थिए । तर, त्यसलाई नगरपालिकाले बेवास्ता गर्दै आएको छ ।
बारम्बार दुहबी बजार क्षेत्रमा चोरीका घटना हुँदा समेत सरोकारवालाले ध्यान नदिएको नेपाल विद्यार्थी सङ्घ दुहबी नगर समितिका अध्यक्ष दिलीप स्वर्णकारले बताए । मंसीर १ गते शनिबार राती पनि दुहबी–८ मा चोर आएको थाहा पाएर स्थानीयले चोरलाई लखेटेको दुहबी–८ का शङ्कर अधिकारीले बताए ।