काठमाडौँः नेपाली कांग्रेस संखुवासभाको सभापतिमा दीपक खड्काले उमेदवारी घोषणा गरेका छन् ।

उनले कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उमेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा कांग्रेसको संगठन मजबुद बनाउन सभापतिमा उमेदवारी घोषणा गर्न लागेको जानकारी दिए । कांग्रेस संखुवासभाका पूर्वपार्टी सभापति जनक थापाले कांग्रेस संखुवासभाको संगठनलाई सबल र सक्षम बनाउन खड्काको उमेदवारी स्वाभाविक भएको बताए । पूर्वसांसद पासाङ शेर्पाले संखुवासभामा कांग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहका निर्वाचन कांग्रेसले जित्न सक्ने उल्लेख गरे ।

पूर्वसांसद बीना पौडेलले कांग्रेस संखुवासभाको सभापतिका अरू आकांक्षीलाई मिलाएर अगाडि बढ्न सुझाव दिइन् । घोषणासभामा कांग्रेस महासमिति सदस्य महेश थपलिया, ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि दीपेन्द्रमान शाक्य, पूर्वमहाधिवेशन प्रतिनिधि थलकुमार लिंखा, कांग्रेस जिल्ला कार्यसमिति सदस्य शेरबहादुर गुरुङ, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पा, पर्यटन व्यवसायी नवीन त्रिताल, अधिवक्ता सेवक पोखरेल, विद्यार्थी नेता सन्दीप निरौलालगायत उपस्थित थिए । -रासस