इटहरीः अख्तियार दुरुपायोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७८÷०७९ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा २२ सय ९१ वटा मुद्दा दर्ता भएका छन् ।

आयोगले दिएको जानकारी अनुसार लिखित र विभिन्न सञ्चार माध्यमको प्रयोग गरेर त्यो मात्रामा आयोगमा उजुरी दर्ता भएको हो । आयोगका अनुसार साउन महिनामा १६ सय ३१ वटा मुद्दा दर्ता भएका छन् । साउनमा लिखित ५ सय ६६ वटा, हुलाकमार्फत् ३ सय ५० वटा, इमेलमार्फत् ३ सय ११ वटा, टेलिफोनमार्फत् ७३ वटा, वेबसाइटमार्फत् २ सय १६ वटा र फेसबुक, मोबाइल एप र पत्रपत्रिकामार्फत् ६४ वटा उजुरी दर्ता भएको आयोगले जानकारी दिएको छ । आयोगको केन्दीय कार्यालय टङ्गालसँगै देशभर ८ वटा शाखा सञ्चालमा रहेका छन् । आयोगले दिएको जानकारी अनुसार साउन महिनामा सबैभन्दा बढी टङ्गालमा उजुरी दर्ता भएको छ । टङ्गालमा ९ सय २५ वटा उजुरी साउन महिनामा मात्र दर्ता भएका हुन् ।

यस्तै, नेपालगञ्ज कार्यालय र कञ्चनपुर कार्यालयमा ६०÷६० वटा, पोखरा कार्यालयमा ५० वटा, बुटवलमा ७९ र बर्दिबासमा एक सय ८ वटा उजुरी दर्ता भएका छन् । यसैगरी, सुर्खेतमा एक सय १ वटा, हटौँडामा एक सय ४४ वटा र इटहरीमा एक सय ५ वटा उजुरी परेको आयोगले जानकारी दिएको छ । यस्तै, आ.व.को भदौ महिनामा ६ सय ५९ उजुरी दर्ता भएका छन् । आयोगले दिएको जानकारी अनुसार लिखित रुपमा एक सय ९४ वटा, हुलाकमार्फत् एक सय ४९ वटा, इमेलमार्फत् एक सय ३४ वटा, टेलिफोनमार्फत् ३४ वटा, वेवसाइटमार्फत एक सय १३ वटा, फेसबुकमार्फत् ४ वटा, मोबाइल एपमार्फत् ११ वटा र पत्रपत्रिकामार्फत् १५ वटा उजुरी दर्ता भएका हुन् । सोही महिनामा प्रधान कार्यालय टङ्गालमा ४ सय २९ वटा, नेपालगञ्जमा २३ वटा, पोखरामा १३ वटा, बुटवलमा ३२ वटा, बर्दिबासमा २७ वटा, सुर्खेतमा २६ वटा, हेटौँडामा ३५ वटा र इटहरीमा ४६ वटा उजुरी परेका छन् ।