काठमाडौँः लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो । विभागले गत भदौ ८ गते कार्यविधि संशोधन गरेर सो व्यवस्था हटाएको छ । अब परीक्षार्थीले ट्रायल सेन्टरमा निजी कम्पनीले राखेका थोत्रा सवारी चलाउनुपर्ने छ । ती कम्पनीले तोकेको महँगो शुल्क पनि यथावत रहने भएको हो । विभागले नयाँ कार्यविधि जारी गरेपनि लाइसेन्स कार्यालयहरुले पुरानो आवेदकहरुलाई पुरानै कार्यविधिअनुसार परीक्षा लिइरहेका छन् । नयाँ आवेदकहरुको हकमा भने ७० अंक ल्याए पास हुने नयाँ व्यवस्था लागु गर्ने तयारी छ । आफ्नै सवारी लैजाने सकिने कार्यविधि आएपछि त्यसबापत पैसा असुलिरहेका कम्पनीहरुले संशोधन गर्न दबाव दिएका थिए । शुरुमा संशोधन गर्न नचाहेको यातायात व्यवस्था विभागले ‘लाइसेन्स कार्यालयहरुबाट पनि ट्रायलमा परीक्षार्थीको सवारीसाधन प्रयोग उपयुक्त नहुने सुझाव आएको’ नियम परिवर्तन गरेको हो । विभागका एक अधिकारीले चर्को दबावबाट नियम संशोधन भएको स्वीकार गरे ।

उनले भने, ‘व्यवसायीहरुले अनेक तर्क गरेर आफ्नो कुरा माथि पार्नुभयो ।’ अहिले ट्रायल सेन्टरहरुले एक परीक्षार्थीबाट सवारीको किसिमअनुसार २०० देखि ५०० रुपैयाँसम्म असुलिरहेका छन् । लाइसेन्स कार्यालयहरुले आफूले ट्रायल लिने सवारीको व्यवस्था नगरी ट्रायल सेन्टरमा निजी कम्पनीहरुलाई छाडिदिएका छन्, त्यो पनि बिना प्रतिस्पर्धा । विभागले ‘सच्चाएको’ निर्देशिकामा परीक्षार्थीले ट्रायलमा प्रयोग गर्ने आफ्नो सवारीको स्तर पनि तोकेको थियो । मोटरसाइकल र स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२०० मिलिमिटरको ह्विल बेस भएको, म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्ने भनिएको थियो । त्यस्तै, कार र जिपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३०० मिलिमिटर ह्विल बेस भएको, लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बिमा अद्यावधिक भएको हुनुपर्ने व्यवस्था थियो । काररजिपको इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्ने, झ्याल, ढोका, लकलगायत प्रणाली ठीक हुनुपर्ने, ट्रायलको क्रममा ‘रियर भ्यू’ क्यामेरा छोप्नुपर्ने भनिएको थियो ।

अब यही व्यवस्था परीक्षार्थीको सवारीको सट्टा ट्रायल सेन्टरमा हुने सवारीको हकमा मात्रै लागु हुनेछ । तर, निजी कम्पनीहरुले पहिलाकै थोत्रा सवारीले काम चलाइरहेका छन् । विभागले निर्देशिकामा अन्य संशोधन पनि गरेको छ । लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । यसअघि ५र५ अंकको २० प्रश्न सोध्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । यसअघि ७० अंक अनिवार्य गरिएको थियो । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ । -अनलाइनखबरबाट