इटहरीः आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाग्मति, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । विभागका मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बाग्मति, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । अन्य प्रदेशमा पनि केही स्थानमा मेघ गर्जनका साथै चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको भनाइ छ । “काठमाडौंमा विहानदेखि वर्षा भइरहेको छ । दिउँसो केही समय मौसम खुले पनि साँझपख काठमाडौंमा पुनः पानी पर्ने छ,” मौसमविद् श्रेष्ठले भने, “पानी परे पनि भारी वर्षाको सम्भावना भने छैन, मध्यम वर्षा हुने छ ।”

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । वर्षाका कारण देशका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपाउन विभागले सर्वसाधारणमा अपिल गरेको छ । कम्तिमा आगामी दुई दिन मौसममा सुधार हुने सम्भावना न्यून रहेको विभागले प्रष्ट पारेको छ । “हिजो साँझबाट भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव नेपालमा पनि रहेको छ,” मौसमविद् श्रेष्ठले भने, “त्यसैले यसको प्रभाव कम्तीमा दुईदिन पर्ने देखिन्छ । यसको असर कम्तीमा दुई दिन मौसममा बदली र वर्षा हुन्छ ।”