इटहरीः रोहिंग्या शरणार्थीलाई नेपाल ल्याई अवैध रुपमा अमेरिका पठाउन खोज्ने तीन विदेशीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँको डल्लु बस्ने बंगलादेशी नागरिक आजमत अली, काठमाडौँको कपन राम मन्दिरस्थित शरणार्थी क्याम्पमा बस्ने म्यानमारका रोहिंग्या शरणार्थी २७ वर्षीय सोफिक आलम र सोही क्याम्प बस्ने म्यानमारका रोहिंग्या शरणार्थी २६ वर्षीय नूर अमिन रहेको प्रहरीले जनाएको छ । बंगलादेशमा शरणार्थीका रुपमा बसेका रोहिंग्यालाई अमेरिका पठाउने प्रलोभन देखाई नेपाल ल्याएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार नूर अमिन, सोफिक आलम र बङ्गलादेशी नागरिक आजमत अलिले रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याउँदै आएका थिए ।

बङ्लादेशमा बसिरहेका ६ जना रोहिंग्या शरणार्थीलाई नेपालमा मासिक भत्ता दिइने तथा २०२२ मा यूएनएचसीआरले अमेरिका जाने परिचयपत्र दिने भन्दै रोहिंग्या शरणार्थीहरुबाट २ लाख ५० हजार टाका लिई अभियुक्तहरुले नेपाल ल्याएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरुलाई साउन १८ गते स्थलमार्ग हुँदै भदौ १८ गते बिराटनगर र भदौ १९ गते काठमाडौंस्थित यूएनएचसीआर कार्यालय जाने बाटोसम्म अभियुक्तहरुले छोडिदिएकोमा शरणार्थीको परिचयपत्र दिई यूएनएचसीआरले कपनस्थित रोहिंग्या शरणार्थीहरूको जिम्मा लगाएको उल्लेख गरेको छ । पक्राउ परेका तीनै जना अभियुक्तहरुउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाहीका लागि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।