इटहरीः मलेसियामा हुने आई.सी.सी महिला विश्वकप क्रिकेटको एसिया क्वालिफायरमा सहभागिताका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम तयारीमा जुटेको छ ।

यसै वर्ष मलेसियामा हुने उक्त क्वालिफायरको तयारीका लागि राष्ट्रिय महिला टिमले सुनसरीको इटहरीमा भोलिदेखि अभ्यास गर्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले जानकारी दिए । भोलिदेखि एक हप्तासम्म सञ्चालन हुने सो अभ्यासमा टिम कप्तान सविना क्षेत्रीसहित ११ जना खेलाडी सहभागी हुने उनले जानकारी दिए । इटहरीमा हुने अभ्यासमा प्रदेश १ का ६ जना र २ जना वैकल्पिक तथा प्रदेश २ का ३ जना वैकल्पिक खेलाडी गरी ११ जना सहभागी हुने उनले बताए ।

काठमाडौँबाहिर भएको यस अभ्यासमा सम्भावना बोकेका स्थानीय खेलाडीलाई पनि समावेस गर्ने लक्ष्य लिएको उनले सुनाए । उनले अहिले टिममा अभ्यास राम्रो हुनुको साथै धेरै वटा खेल खेल्ने अवसर पाएकाले क्वालिफाय हुने प्रबल सम्भावना रहेको जानकारी दिए । एक साताको अभ्यासपछि काठमाडौँमा नेपाली महिला क्रिकेट टिमले अन्तिम अभ्यास गर्नेछ । त्यसपछि क्वालिफायरको लागि मलेसिया जाने बताइएको छ । त्यहाँ क्वालिफाय भए नेपालले यसै वर्ष न्युजिल्याण्डमा हुने आई.सी.सी महिला विश्वकपमा सहभागिता जनाउनेछ ।