इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलाहरुमाथि अभद्र व्यवहार गरेको घटनाले उग्र रुप लिएको छ ।

आफ्ना विभिन्न विवादास्पद हर्कतहरुका कारण सार्वजनिक चर्चामा आइरहने सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अराजक कार्यशैली दोहोर्याउँदै महिलामाथि दुव्र्यवहार गरेपछि महिला अधिकारकर्मीहरुले प्रतिवाद गरेका हुन् । महिला अधिकारकर्मीहरुले मेयरको व्यवहार पदीय आचरण र नैतिकताको सिद्धान्तविपरीत भएको भन्दै संयुक्त रुपमा विरोध प्रदर्शन गर्नुका साथै मेयर चौधरीविरुद्ध नाराबाजीसमेत गरेका छन् । सुनसरीका विभिन्न १३ ओटा महिला अधिकारवादी संस्थाहरुले संयुक्त रुपमा प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीमार्फत् मेयर चौधरीलाई ज्ञापनपत्र बुझाउन खोज्दा उपहानगरपालिका परिसरमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईको नेतृत्वमा परिचालित प्रहरीले अवरोध गरेको महिला अधिकारकर्मी सुशीला उप्रेतिले जानकारी दिइन् । उनका अनुसार प्रहरीले ज्ञापनपत्र बुझाउन अवरोध गरेपछि महिला अधिकारकर्मीले कोणसभा आयोजना गरी मेयर चौधरीविरुद्ध नाराबाजी गरेका थिए ।

itahari mahila4

केही समयपछि प्रहरीलाई अनुरोध गरी चार जना महिला अधिकारकर्मीहरु उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीसमक्ष पुगी भदौ ३१ गते मेयरलाई बुझाइएको ज्ञापनपत्रमाथि भएको प्रगतिबारे बुझ्दा सुवेदीले मेयरले ज्ञापनपत्र हालसम्म पनि नहेरेको बताएपछि अधिकारकर्मीहरुले मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी गरी ब्यानर टाँस गरेका थिए । ब्यानर टाँस्ने क्रममा प्रहरी निरीक्षक भट्टराईले मेयरको कार्यकक्षमा ब्यानर टाँस्ने अधिकार अधिकारकर्मीलाई नभएको भन्दै अलोकतान्त्रिक एवं गैरकानूनी शैलीमा अभिव्यक्ति दिएको बताउँदै अधिकारकर्मी उप्रेतिले प्रहरी निरीक्षक भट्टराईको भूमिका मेयरलाई चोख्याउने प्रकृतिको भएको आरोप लगाइन् ।

अर्की अधिकारकर्मी योशा गुरागाईँले महिलामाथि अभद्र व्यवहार गर्ने अधिकार मेयरलाई नभएको भन्दै उनको गैरकानूनी हर्कतविरुद्ध निरन्तर विरोध गरिरहने जानकारी दिइन् । मेयर चौधरीका निकटस्थ व्यक्तिहरुले चौधरी बाहिर रहेको बताएपनि उनी घरमै रहेको जानकारी आफूहरुलाई रहेको भन्दै अधिकारकर्मी गुरागाईँले मेयर चौधरी कारबाहीको डरले भागिरहेको जिकीर गरिन् । घटनाको विरोधमा भोलि नेकपा एमाले, नेपाली कांग्रेस लगायतका राजनीतिक दल तथा नागरिक समाज इटहरीलाई ज्ञापनपत्र बुझाउने र सडक प्रदर्शनलाई पनि निरन्तरता दिइने बताउँदै उनले मेयरको कर्तुतविरुद्ध कानूनी उपचारसमेत खोज्ने तयारीमा आफूहरु जुटेको प्रष्ट पारिन् ।

itahari mahila2

गत भदौ ३० गते दिउँसो ३ः३० बजे सिफारिसमा मेयरको तोक लगाउन लगाउनका लागि पुगेका इटहरी ४ घर भएकी सीता शेर्पा राई र उर्मिला भट्टराईलाई कार्यालयमा प्रवेश गर्नासाथ मेयर चौधरीले अश्लिल गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै दुवै महिला सेवाग्राहीलाई नगर प्रहरी लगाई धम्कीसमेत दिएको घटना सार्वजनिक भएपछि सोको भोलिपल्ट महिला सहयोगी समूह, प्रोत्साहन नेपाल, महिला पुनःस्थापना केन्द्र (ओरेक), जागृति महिला महासंघ लगायतका १२ ओटा महिला अधिकारवादी संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए । साथै उनीहरुले महिलामाथि अपशब्द प्रयोग गर्ने व्यक्तिउपर सम्बन्धित निकायबाट कडा कारबाही हुनुपर्ने तथा मेयर चौधरीले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीलाई बुझाएका थिए । अधिकारकर्मीले लगाएका आरोप र घटनाक्रमबारे बुझ्न मेयर चौधरीलाई सम्पर्क गर्दा उनले मोबाइलको स्वीच अफ गरेका पाइयो ।

itahari mahila3