इटहरीः साहस उर्जा कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्कासन बिक्री खुल्ला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्कासन गरेको हो । निष्कासनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता सर्वसाधारणलाइ बाडफाँट गरिनेछ । कम्पनीले निष्कासन गेरको शेयरमा आजदेखि असोज १० गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्म माग अनुसार आवेदन नपरे असोज २० गतेसम्म म्याद थप हुनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

तथापि निष्कासन हुने शेयरको संख्या कम भएकाले १० कित्ताभन्दा बढी माग गर्नु उपयुक्त हुँदैन । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीले स्थानीयलाई ३५ करोड रुपैयाँको शेयर बिक्री गरिसकेको छ । स्थानीय र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरिसकेपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।