इटहरीः झापाको झापा गाँउपालिका १ माइति घर भई भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका १ का ३७ वर्षीय लखन टुडु सतार , ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । २०७८ साल भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा गाँउपालिका १ स्थित सानो माई खोलामा महिलाको अर्ध शरीर भएको टाउको, घाँटी, पेट (कम्मरभन्दा माथिको भाग) तथा घुँडाभन्दा मुनिको भाग नभएको अवस्थामा लास फेला परेको जानकारीसँगै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा कानूनी कारबाही अगाडि बढाएको थियो ।

 प्रहरीले अनुसन्धान तथा महिलाको अर्ध शरीरको लास फेला परेको सम्बन्धमा स्थानीयसहित उनको पहिचान गराउने क्रममा अर्ध शरीरको लास ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । लासको पहिचान खुलेसँगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न रहेका उल्लेखित चारै जनालाई असोज १ गते पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु मृतक धोन्नीका आफन्तहरु रहेको र जग्गाको विषयमा उनीहरुबीच विवाद हुँदै आएकोमा भदौ २५ गते यी चारै जना मिलेर धोन्नी टुडुलाई माई खोला किनारमा लगी शरीरको विभिन्न भागमा काटी टुक्राटुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जनाउपर कर्तव्य ज्यान मुद्दामा कानूनी कारबाही अगाडि बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।