इटहरीः लगानीकर्तालाइ सस्तोमा शेयर उठाउने अवसर आएको छ । हकप्रद शेयरमा आफ्ना शेयरधनीले शेयर नकिनेपछि जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले आजदेखि केही कित्ता सर्वसाधारण तर्फको शेयर र केही संस्थापक शेयर लिलामी गर्न लागेको छ ।

लिलामीमा शेयर किन्दा दोश्रो बजारभन्दा बढी फाइदा हुने भएकाले लगानीकर्ताहरु आकर्षित हुने गरेका छन । एचआईडीसीएलले कुल ३ करोड ६२ लाख २९ हजार सात सय २४ कित्ता शेयर लिलामी बिक्री खुल्ला गरेको हो । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार सात सय २४ कित्ता र संस्थापक समूहको तीन करोड ३० लाख कित्ता शेयर लिलामीमा ल्याएको हो । यस लिलामीमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् तर स्वभाविक रुपमा लिलामीको शेयर खरिद गर्दा केही प्रकृयागत झन्झट व्यहोर्नुपर्छ । कम्पनीको शेयरमा आजबाट असोज १४ गतेसम्म लिलामीको बोलपत्र पेस गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सकिन्छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल, काठमाडौँबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढका शाखाका साथै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम एक करोड कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ । अधिकतम संख्याको लागि भने कुने हद तोकिएको छैन । एचआईडीसीएलले साउन ५ देखि भदौ ८ गतेसम्म एक हजार पाँच हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको शेयर लिलामीमा ल्याएको हो । कम्पनीले कुल ११ करोड कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा सात करोड ३७ लाख ७० हजार दुई सय ७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । उक्त हकप्रद शेयर भने भदौ २६ गते बाँडफाँट भएको थियो ।