इटहरीः गत शनिबार इटहरीको मुख्य चोकैमा रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकन पुग्ने अवसर मिल्यो । छुट्टिको दिन भएपनि हामी अलि चाँडै पुगेको हुनाले त्यत्ति भिडभाड थिएन । आधाजति टेबलहरुमा मात्र ग्राहक बसेका थिए । हामी टेबलमा बस्नासाथ आकर्षक युनिफर्ममा सजिएका स्टाफ अर्डर लिन आइपुगे । हामीले मिनेटमै चिकेन बर्गरको अर्डर गर्यौँ । यत्तिकैमा यताउति हेर्दै द वर्गर हाउसका सञ्चालक राजकुमार तामाङ्ग हामीसँग जोडिन आइपुगे ।

बर्गर खाँदै एकछिन राजकुमारसँग गफिने हाम्रो योजना नै थियो । एकैछिनमा हाम्रो अगाडि बर्गर हाजिर भयो । युवा व्यवसायी सँगको भलाकुसारी हुँदै गर्दा टेबलहरु लगभग सबै भरिए । विराटनगरबाट बर्गर खानकै लागि द बर्गर हाउस आइपुगेको एउटा परिवारले राजकुमारसँगै आएर एउटा टेबल मिलाइदिन अनुरोध गर्यो, राजकुमार हामीसँग एकैछिन छुट्टिए अनि एउटा टेबलको प्रबन्ध मिलाएर हामी भएठाउँमै आए । उमेरको हिसाबले हेर्ने हो भने भर्खरै ३६ औँ वसन्तमा हिँड्दै गरेका राजकुमार तामाङ्ग यो मिठो बर्गर र झुरुम झुरुम फ्राई भएको चिकेन बेच्ने रेस्टुरेन्टका एक्ला सञ्चालक भने होइनन् । पार्टनरसिपमा उनीजस्तै अल्लारे युवाहरु राजकुमारको साथमा रहेछन् । जीन्दगीको कुनै पल खाडी मुलुक युएईको अवुधावी त कुनै समय रसिया र रसियामै पर्ने युक्रेनसम्म पुगेका राजकुमार अहिले भने इटहरीको व्यस्त चौकमा रहेको व्यस्त फास्टफुड रेस्टुरेन्टका व्यस्त सञ्चालक हुन् भन्दा फरक पर्दैन । टेबलहरु भरिँदै गएपछि राजकुमार भने किचनतिर छिरेर परिकार बनाउने टोलीलाई सहयोग गर्दा रहेछन् ।

burger house2

 पेट्रोल फिलरको रुपमा युएई पुगेका राजकुमार युएईबाटै रसिया र युक्रेनसम्म पुगेका रहेछन् । युरोपेली मुलुकको पोर्चुगलसम्म पुग्ने उनको चाहाना खै के कारणले रोकिएको रहेछ । हुन त युक्रेनमै पनि शरणार्थी भएर बसेका उनलाई आफ्नै देश प्यारो लागेछ अनि विदेशको बसाइलाई बिट मार्दै नेपालमै बस्ने र नेपालमै केही गर्ने सोचसहित देश फर्किएका रहेछन् राजकुमार । फास्टफुडमा सानैदेखिको लगाव रहेछ राजकुमारको । विदेश जानुभन्दा पहिला पनि काठमाडौँको बौद्धमा ठेलामा आलु र ससेज बनाएर बेच्ने राजकुमारलाई रेस्टुरेन्ट व्यवसायमा लगाव बढ्दै गएको रहेछ । राजकुमारले सुनसरीको झुम्कामा डुमरेन्स क्याफे नामको रेस्टुरेन्ट पनि खोलेका रहेछन् तर सफल हुन सकेन । डुमरेन्स छोडेपछि कार किनेर ट्याक्सी पनि चलाएछन् । मान्छेहरु फरक फरक प्रकृतिका हुन्छन् । सबैले सबैलाई राम्रो सल्लाह सुझाव दिँदैनन् । त्यसको असर राजकुमारको जीवनमा पनि परेको रहेछ । पछिल्लो पटक द बर्गर हाउस खोल्ने बेलामा भने राजकुमारले कसैलाई पनि भनेनछन् । “साथीभाइ मिलेर सानो कफी हाउस खोल्ने भन्ने योजना थियो तर पछि ठूलै योजना भयो ” । राजकुमारले हामीलाई सुनाए ।

कोरोना महामारीले राजकुमारजस्ता व्यवसायीलाई नराम्रो असर गर्यो । अरु जे भए पनि घरको भाडा त तिर्नैैपर्यो । त्यहाँमाथि पहिलो लहरको कोरोना सकिँदा नसकिँदै दास्रो लहर थपियो । त्यसले गर्दा यस्ता व्यवसायीलाई नराम्ररी प्रभाव पारेको छ । “अबको व्यापार राम्रो चल्ने हो भने दसैँ तिहारपछिबाट उक्सिन सकिन्छ कि” राजकुमार भन्दै थिए । द बर्गर हाउस एण्ड क्रन्ची फाइड चिकेन बजेटेड रेस्टुरेन्ट हो । कम खर्चमै पनि खाजा खान सकिन्छ भनेर विद्यार्थीहरुलाई टार्गेट गरेर बर्गर हाउसको ब्राण्डलाई इटहरीमा ल्याएको राजकुमारको भनाइ थियो । त्यो व्यस्त शहरमा बर्गर बेच्ने राजकुमार एक्ला भने होइनन् । उनीजस्तै अरु रेस्टुरेन्टले पनि बर्गर बनाउँछन् र बेच्छन् । तर द बर्गर हाउसको ब्राण्डले राजधानीबाटै आउने ब्रेडमा बर्गरको अलग्गै स्वाद दिने गरेको राजकुमारले हामीलाई बताए । यो क्षेत्रका ग्राहकलाई स्वादिलो फ्राई चिकनको स्वाद चखाउने यो रेस्टुरेन्ट राजधानीमा चलाइएको द बर्गर हाउस एण्ड क्रन्ची फाइड चिकेन नामको फेन्चाइज हो । राजकुमारको समूहले यो ब्राण्डलाई प्रदेश १ मा दोस्रो बनाएर चलाएको रहेछ । पहिलोचाहीँ धरानमा आएको रहेछ । प्रदेश १ को राजधानी विराटनगर र मोरङ्गको उर्लाबारीमा यही ब्राण्ड चलाउनको लागि फेन्चाइज लिइसकेका रहेछन् राजकुमारले ।

अब चाँडै यी शहरहरुका ग्राहकलाई स्वादिलो बर्गर र क्रन्ची फ्राइड चिकनको आस्वादन गराउने योजना राजकुमारले हामीलाई सुनाए । अहिले राजकुमारसँग झण्डै तीन दर्जन युवाले रोजगारी पाएका रहेछन् । आकर्षक काउण्टर, ठूलो हल, माथिल्लो तलामा स्मोकिङ्ग र बार यो रेस्टुरेन्टको विशेषता हो । अन्य दिन राम्रै व्यापार हुने भएपनि शनिबार तथा सार्वजनिक बिदाको दिनमा भने एउटा टेबलमा दुई ग्रुपसम्म राख्नुपर्ने अवस्था आउने रहेछ । बारबाट भन्दा पनि फास्टफुडबाटै राम्रो फाइदा लिन सकिने यी युवा व्यवसायीको भनाइ थियो । आफूसँग भएका स्टाफलाई आफूसँगै राख्न पनि रेस्टुरेन्ट व्यवसायीहरुको चुनौति रहेका बेला राजकुमार भने आफ्ना स्टाफहरु आफूसँग खुसी भएको सुनाउँछन् । “स्टाफहरुलाई चाडपर्वको बेला खर्चको जोहो गर्न सघाउनुपर्ने साथै समय समयमा उनीहरुको गुनासो सुनिदिनुपर्ने हुन्छ । त्यसो भयो भने उनीहरु आफूसँगै रमाउन सक्छन्” राजकुमारले सुनाए । सफा र स्वच्छ वातावरण, इनर्जेटिक स्टाफ र मिठो टेस्ट । यीनै द बर्गर हाउस एण्ड क्रुन्ची फ्राइड चिकेनका विशेषता हामीले बुझ्यौँ । सर्भिसलाई प्राथमिकतामा राखेर व्यापार गर्ने यी युवाको आगामी यात्रा सुखमय रहोस् । हाम्रो शुभकामना ।