इटहरीः क्वालिफाई हुने लक्ष्यका साथ नेपाली राष्ट्रिय महिला क्रिकेट टिम अभ्यासमा लागेको छ ।

राष्ट्रिय महिला टिमका प्रशिक्षक जगत टमाटाले सुनसरीको इटहरीमा बन्द प्रशिक्षण सुरु गरेका हुन् । आगामी मंसिरमा मलेसियामा आईसीसी महिला विश्वकप क्रिकेटको एसिया क्वालिफायर हुँदैछ । त्यसकै तयारीस्वरुप महिला टिमले आजदेखि एक हप्तासम्म इटहरीमा अभ्यास गर्ने भएको हो । टिमको लक्ष्य नै क्वालिफायर भएर थाइल्याण्डमा हुने विश्वकप खेल्ने लक्ष्य रहेकाले त्यो लक्ष्य पूरा गर्न लागिपरेको प्रशिक्षक टमाटाले जानकारी दिए । क्वालिफायर हुन अझै धेरै समय बाँकी रहेकाले पर्याप्त अभ्यासको समय हुने र यसले क्वालिफायरमा मद्दत गर्ने उनको विश्वास छ ।

2 (1) 3

खेलाडीहरु पनि क्वालिफाई हुनेमा विश्वस्त देखिन्छन् । अघिल्ला खेलहरुमा अभ्यास कम हुने भएकाले आशातित प्रस्तुति दिन नसकेको कप्तान रुविना क्षेत्रीले बताइन् । यो पटक महिनौँ समय रहेकाले आफूहरुमा जित्ने आत्मविश्वास र साहस रहेको उनले जानकारी दिइन् । अहिले टिमले बिहान दुई घण्टा र दिउँसो दुई घण्टा अभ्यास गर्नेछ । बिहान शारीरिक अभ्यास र दिउँसो स्किलमा ध्यान दिने बताइएको छ ।