इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलाहरुमाथि अभद्र व्यवहार गरेको घटनालाई लिएर महिला अधिकारकर्मीहरुले गर्दै आएको विरोध प्रदर्शन थप चर्कँदै गएको छ ।

आफ्ना विभिन्न विवादास्पद हर्कतहरुका कारण सार्वजनिक चर्चामा आइरहने मेयर द्वारिकलाल चौधरीले आफ्नो अराजक कार्यशैली दोहोर्याउँदै महिलामाथि दुव्र्यवहार गरेपछि आन्दोलित बनेका महिला अधिकारकर्मीहरुले आज पनि मेयर चौधरीविरुद्ध सडक प्रदर्शन गरेका छन् । घटनाको भोलिपल्टैदेखि सशक्त विरोधमा उत्रिएको सुनसरीमा सक्रिय १३ ओटा महिला अधिकारवादी संस्थामा आबद्ध अधिकारकर्मीहरुको संयुक्त टोलीले आज देशका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टी तथा नागरिक समाज इटहरीलाई ज्ञापनपत्र बुझाएको महिला सञ्जाल इटहरीकी सदस्य तथा महिला अधिकारकर्मी सुशीला उप्रेतिले जानकारी दिइन् । उनका अनुसार उपमहानगरपालिकाको कार्यालय परिसरमा प्रवेश गर्न अधिकारकर्मीको टोलीलाई प्रहरीले रोक लगाएपछि आक्रोशित अधिकारकर्मीहरुले उपमहानगरपालिकाको प्रवेशद्वारअगाडि नै कोणसभा आयोजना गर्नुका साथै मेयर चौधरीविरुद्ध ‘मेयर चोर(कुर्सी छोड, महिला हिंसा बन्द गर, मेयर द्वारिकलाल चौधरी मुर्दावाद लगायतका नारासहित नाराबाजी गरेका थिए ।

itahari vivad3

आज भएको सडक प्रदर्शनमा महिलावादी संस्था जय नारीकी संस्थापक अधिकारकर्मी सावित्रा सुवेदीको पनि उपस्थिति रहेको थियो । अधिकारकर्मी उप्रेतिका अनुसार प्रहरीले ज्ञापनपत्र बुझाउन अवरोध गरेपछि महिला अधिकारकर्मीले कोणसभा आयोजना गरी मेयर चौधरीविरुद्ध नाराबाजी गरेका थिए । मेयर चौधरीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने बताउँदै उप्रेतिले भोलि पनि इटहरीको मुख्य चौकमा विरोधसभा आयोजना गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । हालसम्म आफूहरुले घटनाका विरुद्धमा आवाज उठाउँदै राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाई नियमनकारी निकायको ध्यानाकर्षण गराइसकेको बताउँदै उनले घटनाको न्यायिक निरुपणका लागि आफूहरु अदालतमा मुद्दा दर्ता गराउने तयारीमा रहेको पनि प्रष्ट पारिन् । मेयर चौधरी महिलामाथि अभद्र व्यवहार गरेर भाग्दै हिँडेको उनको आरोप थियो । प्रहरीले मेयर चौधरी उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल भर्ना भएको जानकारी दिएपनि मेयर चौधरी उपमहानगरपालिकाको कोठामै प्रहरी सुरक्षा लिएर बसेको जानकारी प्रत्यक्षदर्शीहरुले आफूलाई दिएको उनको भनाइ थियो ।

itahari vivad2

महिला अधिकारकर्मीहरुले हिजो पनि मेयरको व्यवहार पदीय आचरण र नैतिकताको सिद्धान्तविपरीत भएको भन्दै संयुक्त रुपमा विरोध प्रदर्शन गर्नुका साथै मेयर चौधरीविरुद्ध नाराबाजीसमेत गरेका थिए । त्यस क्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीमार्फत् मेयर चौधरीलाई ज्ञापनपत्र बुझाउन खोज्दा उपहानगरपालिका परिसरमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईको नेतृत्वमा परिचालित प्रहरीले अवरोध गरेको थियो । केही समयपछि प्रहरीलाई अनुरोध गरी चार जना महिला अधिकारकर्मीहरु उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीसमक्ष पुगी भदौ ३१ गते मेयरलाई बुझाइएको ज्ञापनपत्रमाथि भएको प्रगतिबारे बुझ्दा सुवेदीले मेयरले ज्ञापनपत्र हालसम्म पनि नहेरेको बताएपछि अधिकारकर्मीहरुले मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी गरी ब्यानर टाँस गरेका थिए । ब्यानर टाँस्ने क्रममा प्रहरी निरीक्षक भट्टराईले मेयरको कार्यकक्षमा ब्यानर टाँस्ने अधिकार अधिकारकर्मीलाई नभएको भन्दै अलोकतान्त्रिक एवं गैरकानूनी शैलीमा अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी आक्रोशित भएका थिए ।

गत भदौ ३० गते दिउँसो ३ः३० बजे सिफारिसमा मेयरको तोक लगाउन लगाउनका लागि पुगेका इटहरी ४ घर भएकी सीता शेर्पा राई र उर्मिला भट्टराईलाई कार्यालयमा प्रवेश गर्नासाथ मेयर चौधरीले अश्लिल गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै दुवै महिला सेवाग्राहीलाई नगर प्रहरी लगाई धम्कीसमेत दिएको घटना सार्वजनिक भएपछि सोको भोलिपल्ट महिला सहयोगी समूह, प्रोत्साहन नेपाल, महिला पुनःस्थापना केन्द्र ९ओरेक०, जागृति महिला महासंघ लगायतका १२ ओटा महिला अधिकारवादी संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए । साथै उनीहरुले महिलामाथि अपशब्द प्रयोग गर्ने व्यक्तिउपर सम्बन्धित निकायबाट कडा कारबाही हुनुपर्ने तथा मेयर चौधरीले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीलाई बुझाएका थिए । अधिकारकर्मीले लगाएका आरोप र घटनाक्रमबारे बुझ्न मेयर चौधरीलाई सम्पर्क गर्दा निजका सहयोगीले मेयर चौधरी व्यस्त रहेको बताई फोन राखिदिए ।

 

itahari vivad1