धरानः एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यही असोज १० गतेदेखि १२ गतेसम्म तीन दिनको हुने आयोजक मितेरी फुटसल र सिंगापुर लिफ टिमले वुधबार एमसी क्याफे बुद्ध चौकमा बुधवार पत्रकार सम्मेलन गरी पत्रकारहरुलाई जानकारी गराएका छन् । मितेरी फुटसलले यसअघि पनि विभिन्न च्यारिटेवल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भए पनि यस पटकदेखि वृहत कार्यक्रमको आयोजना सुरुवात गरिएको मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी गराए । प्रतियोगिताको उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी, उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने राईले जनाए । प्रतियोगितामा धरान, इटहरी , काठमाडाँै, पोखरा, चितवन, मोरङ्ग, झापा, धनकुटा, लगायतबाट करिब ३० टिमले सहभागिता जनाउनेछ । प्रतियोगिताबाट उठेको रकमले धरान १३ नं वडामा रहेको प्रेटोल पम्पदेखि भेडेटार सम्मको टर्निङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त टर्निङ्ग तथा चौकहरु गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरुको पहलमा १७ न.ं वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा धरान १७ विजुवा मार्गस्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जानकारी गराए ।

20210922_093210

आयोजक मितेरी फुटसल २०७५ सालमा स्थापना भएको हो । फुटसलसँगै इन्डोर ब्याडमिन्टन हल, जिम हल रहेको छ भने क्याफे र स्विमिङ्गपुल वन्ने क्रममा रहेको छ । धरान उपमहानगरको खेलकुद विकासमा टेवा पुग्नेगरी मितेरी फुटसलको यससँगै अन्य धेरै खेलकुदअन्तर्गत व्यावसायिक योजनाहरुसमेत रहेको सञ्चालक राईले जानकारी गराएका छन् । त्यसैगरी, अर्का आयोजक सिंगापुर पुलिस लिफ टिम सिंगापुरबाट छुट्टिमा नेपाल आएका धरानका सिंगापुर पुलिस टिम हुन् । छुट्टिमा आएका समुहले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेको हुने भएकोले छुट्टिमा आएको बेला च्यारिटेवल प्रतियोगितको आयोजनामा सहकार्य गरेको सिंगापुर लिफ टिम सदस्य विपिन लिम्बूले जनाए । प्रतियोगितामा आयोजक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिमको सहभागिता रहनेछ । प्रतियोगिता प्रचारप्रसारको लागि पत्रकार सम्मेलन पहिलो कार्यक्रम रहेको र प्रचारको दोस्रो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी टिम र पूर्व सिंगापुर पुलिस टिमबीच आसोज ८ गते मैत्रीपूर्ण फुटसल खेलिने आयोजकले जनाए । अनुमानित १५ लाख रुपैयाँको बजेट रहेको प्रतियोगिताको असोज ९ गते बिहान खेल तालिका तयार गरिने र १० गते बिहान ८ बजेदेखि औपचारिक कार्यक्रमसहित प्रतियोगिता उद्घाटन हुनेछ ।