इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. ६ फुलवारी मार्केटमा शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोको आर्थिक सहयोगमा जिभ करियर इन्ष्टिच्युट प्रा. लि. को आयोजनामा ३ महिने सहायक व्युटिसियन तालिम सुरु भएको छ ।

सृजना के. सी. को अध्यक्षता, इटहरी उपमहानगरपालिका, सामाजिक विकास शाखाकी शाखा अधिकृत सुशीला कार्कीको प्रमुख आतिथ्य, दलित गैरसरकारी संस्था महासंघ नेपालका उपमहासचिव डीबी साहशंकर, परिवर्तन नेपालका कार्यकारी निर्देशक विरु रसाइली लगायतका अतिथिहरुको उपस्थितिमा छनौट भएका सहभागीहरुको बीचमा गरिएको उक्त उद्घाटन कार्यक्रम राजन लोहनीले सञ्चालन गरेका थिए ।

b1

बेरोजगार महिलाहरुले यस्ता सीपमूलक तालिम लिई दक्ष भएको खण्डमा रोजगारीका लागि आवश्यक सहयोग वा सहजीकरण स्थानीय निकायहरुमार्फत् पनि गर्न सकिने र अभिभावकको भुमिका निर्वाह गर्ने प्रमुख अतिथि कार्कीले बताए । विशेषतः बेरोजगार महिलाहरुलाई सीप सिकाई रोजगार सृजना गरी आयआर्जन उन्मुख गराउने मुख्य लक्ष्य लिएको यो तालिमको अन्त्यमा सीटीईभीटीमार्फत् तह १ को सीप परीक्षण गराई तालिमपश्चात् रोजगारीका लागि सहजीकरण गर्ने लोहनीले बताए ।

यस तालिमले रोजगारीसँगै महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा थप सशक्तिकरण समेत गर्ने विश्वास उदघाटन कार्यक्रमकी अध्यक्ष तथा वियोङ्ग व्युटि एकेडमीकी सञ्चालिका सृजना केसीले व्यक्त गरिन् । तालिमका लागि छनौट भएका ४० जना सहभागीहरुले बिहान २० र दिउँसो २० जना गरी २ समूहमा तालिम लिनेछन् ।