खतरा महसुस हुनेबित्तिकै खबर गर्नुहोस्: प्रहरी

  • आश्विन ८, २०७८
  • १९० पटक पढिएको
  • रासस
alt

काठमाडौँः नेपालीहरूको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ ।

चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ ।

सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामा समेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउँछन् ।

उनका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइसकेको छ। सोहीअनुसार आ(आफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ ।

प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न सार्वजनिक अपिल गरेको छ ।

कुनै पनि खतराको महसुस हुनेबित्तिकै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशानुसार चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको काठमाडौँ प्रहरीले नागरिक आफैंले विशेष सावधानी अपनाउँदा पनि धेरै घटनाबाट जोगिन सकिने जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगाना स्पष्ट रूपमा राखी सम्भावित खतराबाट जोगिन अनुरोध गरेको छ ।

विगतमा डेरा गर्ने बहानामा धेरै आपराधिक क्रियाकलाप भएकाले त्यसतर्फ सचेत गराउँदै उक्त अनुरोध गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

प्रहरीले रातको समयमा आफ्नो घर टोलमा होहल्ला गरी हिँड्ने तथा शङ्कास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्न, जुवा, तास, ढुकुटी खेल्नेरखेलाउनेको जानकारी दिन, नौला र असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्न पनि आग्रह गरेको छ ।

लागूऔषध, नशालु पदार्थ सेवन, बेचबिखन गर्ने कोही व्यक्ति भएमा सूचना दिन भनिएको छ ।

प्रहरीले मदिरा पिएर सवारी नचलाउन, छतमा चढेर यात्रा नगर्न, जथाभावी पार्किङ नगर्न पनि आग्रह गरेको छ ।

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र कसैलाई पनि झट्ट विश्वास नगर्न पनि भनेको छ ।

रातको समयमा कसैले ढोका ढकढकाएमा पहिचान नभई नखोल्न, आफ्नो टोल छिमेकमा बत्तीको व्यवस्थापन गरी सम्भव भए आपतकालीन साइरन राख्न पनि सुझाव दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा सुरक्षित रूपमा विश्वासिलो व्यक्तिका साथ जान आग्रह गर्दै खतरा महसुस भएमा प्रहरीमा खबर गर्न अनुरोध गरिएको छ ।

सार्वजनिक स्थानमा सुनका गरगहना लगाएर र धेरै पैसा बोकेर नहिँड्न पनि अपिल गरेको छ। धम्कीपूर्ण फोन आएमा मिलेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीमा खबर गर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।

परिसरले कालोबजारी, अवैध मदिरा बिक्री, चन्दा आतंक, अपहरण फिरौती, देहव्यापार गर्ने व्यक्ति टोल छिमेकमा भएमा प्रहरीमा खबर गर्न, रातको समयमा घरको झ्याल ढोका राम्ररी बन्द गर्न, घर बाहिर जाँदा विश्वासिलो मान्छे वा प्रहरीलाई जानकारी गराउन पनि उक्त अपिलमार्फत आग्रह गरेको छ । दिनको समयमा घर, डेरा खाली हुने अवस्था आएमा पनि प्रहरी युनिटलाई खबर गर्न अपिल गरेको छ ।

यस्ता गतिविधि भएमा प्रहरी कन्ट्रोलमा रहेको १००, ट्राफिक प्रहरीको १०३, महिला तथा बालबालिका खोजतलास केन्द्रको हटलाइन नम्बर १०४ तथा महानगरीय प्रहरी परिसर तथा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ । -रासस

प्रतिक्रिया दिनुहोस

श्रीमान श्रीमतिबीच झगडा हुँदा एक जनाको मृत्यु, एक जना घाइते

इटहरीः तेह्रथुमको छथर गाउँपालिका ३ ज्यामिरे का ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी श्रीमति ५२ ...

मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

इटहरीः संखुवासभाको चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको एडिट ...

संखुवासभामा ट्याक्टर भीरबाट खस्दा चालकको मृत्यु

इटहरीः संखुवासभाको मादी नगरपालिका १ तिनजुरेस्थित भित्री कच्चि सडकखण्डमा ट्याक्टर भीरबाट खसेर चालकको ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved