इटहरीः इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ बाट कीर्ते नागरिकता सिफारिस लिनेहरू फन्दामा परेका छन् । जनप्रतिनिधिलाई झुक्याएर कीर्ते नागरिकता बनाउन सफल समूह त्यति बेला फन्दामा पर्यो, जति बेला वडाध्यक्ष रोहित चौधरीले यो सब चाल पाए ।
यसरी भयो घटना
घटना कात्तिक ७ गतेको हो । गाउँका चन्दन हरिजन आफन्तको नागरिकताका लागि भनेर वडा कार्यालयमा सिफारिश लिन पुगे । उनी यसअघि नागरिकता बनाउने मान्छेको सर्जिमिन गर्न इटहरी प्रहरीकहाँ पुगिसकेका थिए । प्रहरीले सदर गरिदिएको कागज बोकेर ७ गते वडा कार्यालय पुग्दा वडाध्यक्ष चौधरी थिएनन् । उनी भारत भ्रमणमा निस्किएका थिए । सो बेला वडाको कार्यवाहक अध्यक्षको जिम्मेवारी बुधनारायण चौधरीलाई दिइएको थियो ।
बुधनारायण चौधरीले प्रहरीबाट ल्याएको कागजलाई सही ठानेर सदर गरिदिए । पछि सोही सदर गरेको कागज जिल्ला प्रशासन कार्यालय सुनसरीमा पनि सदर भयो । वडाबाट कागज सिफारिश भएको ५ दिनपछि कात्तिक १२ गते सुनसरीको चिमडी बस्ने गणेश हरिजनले नेपाली नागरिकता प्राप्त गरे ।
रहस्यको पर्दाफास
यो घटना गाउँमा गुपचुप थियो । तर, पैसा लिएर नागरिकता बनाउने कामका लागि सर्जिमिनमा सही गरेको फाट्टफुट्ट हल्ला हुन थालेपछि वडाध्यक्ष चौधरीले घटनाको बारेमा चासो राखे । सिफारिश भएको दिन कात्तिक ७ गतेको नागरिकता फाइल पल्टाए । यो कुरा कात्तिक २८ गतेको हो । नभन्दै उनले सुनेको हल्ला सत्य भएको ठहरियो ।
पैसा लिएर नागरिकताका लागि आफन्त बनिदिएको भन्ने उनले गाउँमा सुनेका थिए । तिनैमध्येका एक (जसले पैसा नपाएको भनिएको छ) ले यो कुरा गाउँमा सार्वजनिक गरेका थिए । एक कान, दुइ कान हुँदै गाउँमा हल्ला फिँजियो । वडाध्यक्ष चाहिँ दोषीलाई प्रशासनसमक्ष बुझाउनुपर्छ भनेर लागि परे ।
दोषीलाई यसरी जिल्ला प्रशासनमा बुझाइयो
आज बिहान साढे ११ बजे सुनसरी जिल्ला प्रशासन कार्यालयमा वडाध्यक्ष चौधरी, वडा सदस्य बुधनारायण चौधरीसहित गाउँका मानिसहरूको टिम दोषी भनिएकाहरूलाई साथमा लिएर पुग्यो । साथमा हुनेमा नागरिकताका लागि आफन्त बनेका वासुदेव हरिजन, आमा बन्ने मूर्ति हरिजन, सर्जिमिन गर्ने सीता हरिजन, सीता चमार र गाउँमा मध्यस्थकर्ताको भूमिकामा रहेका घटनाका मुख्य पात्र चन्दन हरिजन र नागरिकता लिने गणेश हरिजन थिए ।
उनीहरूलाई नागरिकता लिने क्रममा कानुनविपरीत देखिएको र यसलाई प्रशासनमा बसेर मिलाउने र आइन्दा कुनै नराम्रो काम नगर्ने (त्यसो गर्दा कानुनबाट फार्से हुने) भन्दै वडाध्यक्षले आफ्नो गाडीमा राखेर जिल्ला प्रशासनमा बुुझाएका थिए ।
को हुन गणेश हरिजन ?
सामान्य कृषि पेशा गर्ने हरिजनको घर सुनसरीको दक्षिणी गाउँ चिमडीमा छ । प्रशासनले दिएको जानकारीअनुसार उनी विदेशी नागरिक भने होइनन् । उनकी श्रीमती कलावतीकुमारी मोचीको वंशजकै नागरिकता छ । तर, गणेशको भने छैन । उनका बाबुआमा सानैमा बितेका कारण उनको नागरिकता नभएको उनको घर पुगेर आएपछि थाहा भएको वडाध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
उनीहरूकी ८ वर्षीया छोरी छिन् । उनको पनि जन्मदर्ता भइसकेको छ । (वडाध्यक्ष चौधरीले गाउँका मानिसको नागरिकता बनाइदिने हरिजन विदेशी नागरिक नभएको जानकारी दिएका छन् ।)
दोषी हिरासतमा
घटनाका दोषी हिरासतमा छन् । आमा बन्ने मूर्ति हरिजन, दाजु भन्ने बासुदेव हरिजन र सर्जिमिन गर्ने जितनी मोची, श्यामु मोची, सीता चमार र सीता हरिजन दोषी रहेका छन् । नागरिकता लिने गणेश हरिजनलाई पनि थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
नाइके भने फरार
नागरिकता बनाउन मुख्य भूमिका खेल्ने इटहरी–८ का चन्दन हरिजन भने फरार भएका छन् । जिल्ला प्रशासन पुर्याइएका हरिजन आँखा छलेर टाप कसेका हुन् । ‘उनी प्रशासन कार्यालयबाटै भागेछन्’, वडाध्यक्ष चौधरीले भने, ‘यो सबै घटना गराउने मुख्य पात्र नै चन्दन हरिजन रहेछ ।’
अनुसन्धान गर्छाैँः सिडिओ
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले नागरिकताका लागि कीर्ते गर्ने कार्य गम्भीर घटना भएको भन्दै यसलाई सामान्य ढङ्गले नहेरिएको बताए । आज दिउँसो कार्यालयमा प्रदेश पोर्टलकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी अनुसन्धानकै चरणमा छौं, दोषी कुनै हालतमा छोडिन्नँ ।’