इटहरीः धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरवासीको मृत्यु हुँदा मलामीलाई खाजा खुवाउन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षदेखि ‘मलामी खाजा सहयोग कार्यक्रम’ सुरु गरेर मृतकका परिवारलाई सहयोग उपलब्ध गराउँन थालेको हो । मृतकको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले मलामीलाई खाजा खुवाउन १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । ‘परिवारको सदस्य गुमाउँदा मृतकको परिवार शोकमा हुन्छ, आर्थिक अभावले थप समस्या पनि भइरहेको हुनसक्छ,’ मेयर नेपालले भने, ‘नगरवासीलाई समस्या परेका बेला सहायता पुर्याउन मलामी खाजा सहयोग कार्यक्रम सञ्चालन गरी मृतकका परिवारलाई १० हजारका दरले सहयोग प्रदान गर्न थालेका छौं ।’
महालक्ष्मी नगरले यो कार्यक्रमअन्तर्गत पहिलो पटक महालक्ष्मी–६ की इन्द्रमाया सार्कीको मृत्यु हुँदा उनको परिवारलाई मलामी खाजा खर्चबापत १० हजार रुपैयाँ उपलब्ध गराएको छ । महालक्ष्मी नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीले घरमै पुगेर समवेदना पत्रसहित मृतक इन्द्रमायाका श्रीमान धनबहादुरलाई रकम प्रदान गरेकी हुन् । विभिन्न रचनात्मक गतिविधि गर्दै आएको महालक्ष्मी नगरले अब हरेक नगरवासीको मृत्यु हुँदा मृतकका परिवारलाई सहयोगस्वरुप रकम प्रदान गरिने जनाएको छ ।