इटहरीः कार्यकक्षमै सेवाग्राही महिलाहरुलाई दुव्र्यवहार गर्ने सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीविरुद्ध कारबाहीको माग गर्दै भदौ ३१ गतेदेखि आन्दोलनरत सुनसरीका महिला अधिकारवादी संस्थाहरु र उपमेयर लक्ष्मी गौतमबीच आज पहिलो पटक भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।
वार्ताका क्रममा उपमेयर गौतमले मेयर चौधरी कोरोना संकमित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालका लागि आन्दोलन स्थगित गर्न र मेयर स्वस्थ भई काममा फर्केपछि दुवै पक्षबीच वार्ता गर्न आग्रह गरेकोमा अधिकारकर्मीको टोली आन्दोलन स्थगित गर्न तयार नभएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । आजको वार्तामा कुनै सहमति नजुटेपछि भोलि राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिसमेत राखेर वार्ता गर्ने समझदारीमा छलफल अन्त्य गरिएको वार्तामा सहभागी अधिकारवादी संस्था महिला आधारशीलाकी अध्यक्ष सुशीला उप्रेतिले जानकारी दिइन् । न्याय नपाएसम्म आफूहरुको आन्दोलन जारी नै रहने उनको भनाइ थियो । वार्ताका साथै कानूनी उपचारको प्रकृयालाई पनि एकैसाथ अगाडि बढाइएको बताउँदै अधिकारकर्मी उप्रेतिले राष्ट्रिय महिला आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगमा आफूहरुले मेयर चौधरीविरुद्ध यसअघि नै उजुरी दर्ता गराइसकेको उल्लेख गरिन् ।
इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराउन गएपनि सो कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक अर्जुन केसी उजुरी दर्ता गर्न तयार नभएपछि आफूहरुले हुलाकमार्फत् सोही कार्यालयका नाममा लेखिएको उजुरी पत्राचार गरेको उप्रेतिले बताइन् । साथै उनले जिल्ला सरकारी वकिल कार्यालय सुनसरीमा पनि उजुरी दर्ता गराइने प्रष्ट पारिन् । अस्पतालमा रहेका मेयर चौधरीले आफूहरुसँग वार्ता नगरेको तर सिफारिसमा तोक लगाउनका लागि भने आफू उपचाररत रहेकै अस्पतालमा सेवाग्राहीलाई बोलाएको भन्दै उप्रेतिले मेयर चौधरी जनस्वास्थ्यप्रति संवेदनशील बन्न नसकेको आरोपसमेत लगाइन् ।
उपमेयर लक्ष्मी गौतमले भने घटनाको पृष्ठभूमि आफूलाई थाहा नभएको बताउँदै आफूले मेयर चौधरी अस्पतालबाट फर्केपछि वार्ता गर्नेगरी आन्दोलन स्थगित गर्न गरेको आग्रह अधिकारकर्मीले नमानेको उल्लेख गरिन् । आन्दोलन रोक्नेबारे आन्तरिक छलफलपछि निर्णय गर्न सकिने कुटनीतिक जवाफ दिएका अधिकारकर्मीहरुकै चाहना अनुसार भोलि नागरिक समाज तथा राजनीतिक दलका प्रतिनिधिसहित वार्ता गर्ने कार्यक्रम तय भएको उपमेयर गौतमले प्रष्ट पारिन् । उपमहानगरपालिकासँग जोडिएर पटकपटक विवाद उत्पन्न हुनु लज्जाको विषय भएको भन्दै उनले छलफलका माध्यमबाट निष्कर्षमा पुग्न सकियोस् भन्ने आफ्नो चाहना रहेको बताइन् ।
गत भदौ ३० गते दिउँसो ३ः३० बजे सिफारिसमा मेयरको तोक लगाउन लगाउनका लागि पुगेका इटहरी ४ घर भएकी सीता शेर्पा राई र उर्मिला भट्टराईलाई कार्यालयमा प्रवेश गर्नासाथ मेयर चौधरीले अश्लिल गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै दुवै महिला सेवाग्राहीलाई नगर प्रहरी लगाई धम्कीसमेत दिएको घटना सार्वजनिक भएपछि सोको भोलिपल्ट महिला सहयोगी समूह, प्रोत्साहन नेपाल, महिला पुनःस्थापना केन्द्र ९ओरेक०, जागृति महिला महासंघ लगायतका १२ ओटा महिला अधिकारवादी संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए ।
साथै उनीहरुले महिलामाथि अपशब्द प्रयोग गर्ने व्यक्तिउपर सम्बन्धित निकायबाट कडा कारबाही हुनुपर्ने तथा मेयर चौधरीले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीलाई बुझाएका थिए । कोरोना संक्रमित भई उपचाररत रहेका मेयर चौधरीलाई प्रतिकृयाका लागि सम्पर्क गर्दा उनले आफू बिरामी रहेको भन्दै फोन राखिदिए । उनले भने, ‘ए चुप लागेर बस्, म अहिले कोभिडको बिरामी भएर अस्पतालमा छु ।’