इटहरीः गएराति भएको सवारी दुर्घटनामा उदयपुर र ताप्लेजुङमा दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिका–३ त्रिवेणी चोकमा उत्तरबाट दक्षिणतर्फ गइरहेको बा ६६ प ६०५३ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री बेलका–३ का ७० वर्षीय हरिण्यबहादुर बस्नेतको मृत्यु १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका बस्नेतलाई उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा उनको राति करिब ११ः५५ बजे मृत्यु भएको हो । स्कुटर र चालक बेलका–३ का २६ वर्षीय एकराज विकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको डीएसपी तिम्सिनाले बताए ।

सवारी चालक अनुमतिपत्रसमेत नभएका चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसैगरी, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ मा तेल्लोकबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ त ९३९० नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्गा –४ का ४५ वर्षीय इन्द्र भट्टराई रहेको डीएसपी तिम्सिनाले बताए । दुर्घटना गराउने ट्याक्टर र चालक ताप्लेजुङ मिरेङ्देनका १७ वर्षीय सन्जराज नाल्बोलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।