भारतको चर्चित रियालिटी सो ‘बिग बोस’ को हिजो शनिबार प्रिमियर कलर्स टिभीमार्फत् प्रिमियर गरिएसँगै यो सो औपचारिक रुपमा दर्शकमाझ आएको छ ।

सोको भव्य प्रिमियर समारोहलाई अभिनेताद्वय सलमान खान र रणवीर सिंहले आफ्ना विविध रमाइला प्रस्तुतिमार्फत् विशेष बनाएका थिए । दुवै अभिनेताहरुको आकर्षक प्रस्तुतिले सोको स्टेजलाई तताएको थियो । अभिनेताद्वयले बिग पिक्चरको रहस्यसमेत उद्घाटित गरेका थिए । बिग पिक्चरमा अभिनेता रणवीरले सलमानलाई विभिन्न चित्रहरुका माध्यमबाट प्रश्न गरेका थिए । खेलका क्रममा एउटा प्रश्नमा रणवीरले सलमानलाई लाइफलाइन लिन सक्ने अफर दिए । जवाफमा सलमानले भने ‘सञ्जु र मैले जिन्दगीमा अधिकतम लाइफलाइन लिएका छौँ ।’ सलमानले ठट्यौली पारामा अभिनेता सञ्जय दत्त र आफू पटकपटक विभिन्न कानूनी झमेलामा पर्दै आएको कुरालाई इङ्गित गरे । सलमानले कार्यक्रमका प्रतिस्पर्धीहरुलाई ‘जङ्गल है आधी रात है’ भन्ने गीतमा नृत्य गर्दै आफ्नै शैलीमा स्वागत गरे । सलमानले प्रतिस्पर्धीहरुसँग आफ्नै शैलीको ठट्यौली सम्वादसमेत गरेका थिए ।

प्रतिस्पर्धीहरुले स्पेसल कोर्सका क्रममा जङ्गलमा देखिएको जनावरको आकृतिलाई पहिचान गर्नुपर्ने थियो । जनावरको प्रतिबिम्ब पाउनका लागि प्रतिस्पर्धीले असम मिरर फेस गर्नुपर्ने थियो । बिग बोसको १५ औँ घरमा प्रवेश पाउने प्रतिस्पर्धीहरुमा जय भानुशाली, विशाल कोटियान, तेजस्व्ी प्रकाश, विधि पाण्डे, सिम्बा नागपाल, उमर रियाज, लेशान सेहगल, डोनाल बिस्ट्, अफसाना खान, शाहिल श्रफ, मिलेसा लियर, करण कुन्द्रा, समिता शेटट्ी, निशान्त भट्ट र प्रतिक सेहाजपाल रहेका छन् । -बलिवुड हङ्गामाबाट