इटहरीः आइतबार बिहान साढे ४ बजेतिर छिमेकी श्रवणकुमार यादवको मोटरसाइकल कसैले घिसार्दै लगेको हरिनारायण दासले देखे । मोटरसाइकल बिग्रेर बिहानै बनाउन लग्यो भन्ने ठानी केही नबोलेका हरिनारायण दास तब छक्क परे जब यादवले आफ्नो बाइक कता गयो भनेर ५ बजेतिर हल्लाखल्ला गर्न थाले ।

यादव जिस्किएको सोचेर दासले भने, ‘अघि निलो पल्सर बाइक आफैँले घिसार्दै गएको होइन ?’ दासको कुरा सुन्नेबित्तिकै यादवले तत्काल आफ्नो मोटरसाइकल चोरी भएको लाख काटिहाले र तत्काल उनले इलाका प्रहरी कार्यालयमा जानकारी गराए ।

आँखै अगाडि मोटरसाइकल घिसार्दै गएको देखे पनि छिमेकी होला भन्ने सोचेर चुप लागेका दास त्यतिखेर चोरले मोटरसाइकल डोहोर्याएको रहेछ भन्ने थाहा पाएर छक्क परे । इटहरी–४ पानीट्याङ्की छेउका यादवले एक वर्ष अगाडि मात्र अढाइ लाख हालेर मोटरसाइकल किनेका थिए । घरबाटै आफ्नो मोटरसाइकल चोरी भएपछि यादव आक्रोशित मात्र बनेका छैनन् उपमहानगरपालिकाभित्रको सुरक्षा स्थिति देखेर छक्क परेको पनि बताउँछन् ।

‘विकास मात्र होइन, अपराध पनि बढेछ । दुःख गरेर कमाएको सम्पत्तिलाई शहरको सुरक्षाले जोगाउन सकेन’ उनले भने, ‘विकास भएर मात्र हुँदैन रहेछ, विकास भएको कुरालाई जोगाउने हैसियत पनि हुनुपर्ने रहेछ ।’

४ महिनामा ११ मोटरसाइकल हराए
पछिल्लो समय युवाहरूमा मोटरसाइकलप्रतिको मोह र अत्यावश्यक साधन बन्दै गएकाले पनि यसको चोरी सबैतिर बढ्दै गएको छ । प्रहरीले चोरीको एउटा मोटरसाइकल नियन्त्रणमा लिन नपाउँदै अर्को मोटरसाइकल चोरीको घटना प्रहरीमा दर्ता भइरहेको छ ।

इटहरीमा चालु आर्थिक वर्षको ४ महिनामा ११ वटा मोटरसाइकल हराएको भनी निवेदन दर्ता भएको छ । चोरी भएका मोटरसाइकल भेटिने पनि गरेका छन् । ४ महिनामा ११ वटा मोटरसाइकल हराएको निवेदन लिएको प्रहरीले ७ वटा मोटरसाइकल भने फेला पारेर सम्बन्धित सवारीधनीलाई बुझाएको छ ।

‘हराएका घटनाहरू आउँछन् तर धेरै सङ्ख्यामा भेट्टाउन पनि सफल रहेका छाँै’, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागार्इं भन्छन्, ‘हराएको थाहा पाउनासाथ खोजी कार्य शुरु गरिहाल्ने भएकाले ६० प्रतिशत भन्दा बढी केस सुझाएका छौँ ।’