इटहरीः सामाजिक विषयवस्तुमा आधारित सर्ट फिल्म ‘द डटर’ले तीन वटा विधामा अवार्ड जितेको छ ।

काडमाडौँको चावहिलस्थित चलचित्र विकाश बोर्डमा सम्पन्न चौथो संस्करणको ‘पिम नेपाल फिल्म फेस्टिबल–२०२१’ मा लघु चलचित्रको प्रतिस्पर्धामा द डटरले तीनवटा अवार्ड जितेको हो । महोत्सब द डटरबाट सर्ट फिल्म विधामा सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता प्रवण भुषालले, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड गायिका तथा अभिनेत्री सरिता भारतीले र सर्वोत्कृष्ट चरित्र अभिनेताको अवार्ड प्रेम पान्डेले जितेका हुन् । प्रवणकै कथा रहेको यो चलचित्रमा छोरी जन्माउन नचाहेकी एक आमालाई श्रीमान र डाक्टरले छोरीका बारे सकरात्मक प्रभाव पारेर छोरी जन्माउन इच्छुक बनाउँछन् । ती महिलालाई समाजमा छोरी सुरक्षित छैन भन्ने भयले छोरी जन्माउने चाहना हुँदैन ।

चलचित्रको यो कथालाई अभिनेता प्रवणले लेखेका हुन् । जसमा पटकथा, सम्वाद र निर्देशन डब्बु क्षत्रीको रहेको छ । द डटरमा विशाल प्रजापतिको छायाँकन, साहिल खानको सम्पादन, राजेन्द्र बजगाईंको पाश्र्व संगीत, रेनिश फागोको रँग सँयोजन, मुकेश शाहको ध्वनी मिश्रण र गणेश बुढाथोकीको पब्लिसिटी रहेको छ । यो सर्ट फिल्ममा प्रवण, सरिता, प्रेमसँगै ऋतु कोईराला, सुवास खड्का, सुष्मा राई, लेखराज दाहाल, बेबी रोजा ढकाल, गंगा ठाकुुर र अप्रिसा भुषालको अभिनय छ । विलक्षण क्रियसनको व्यानरमा बनेको यो चलचित्रलाई अप्रिसाले निर्माण गरेकी हुन् । यो महोत्सवमा ३५ वटा भन्दा बढी लघू चलचित्र चयन तथा अनलाईनबाट प्रदर्शन भएका थिए । जस मध्यबाट द डटरले उत्कृष्ट तीन विधामा अवार्ड जितेको हो ।