इटहरीः जारी प्रथम विराट मिडिया कपको आज भएको दुई खेलमा आयोज विराट टेलिभिजन र सूर्योदय टेलिभिजन विजयी भएका छन् ।

दिउँसो २ बजे भएको पहिलो खेलमा आयोजक विराट टेलिभिजनले ग्रामीण पत्रकार समूह बराहक्षेत्रलाई टाइबे्रकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ५० मिनेटको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निणर्य टाइब्रेकरबाट लिइएको थियो । विराटलाई जिताउन टिम क्याप्टेन राविन गुरुङसहित विनोद आचार्य, असिम नेपाल र दीपेश रसाइलीले गोल गरे । बराहक्षेत्रको तर्फबाट कृष्ण भट्टराई, कमल खड्का र हरि बस्नेतले गोल गरे । खेल सकिन ७ मिनेटको समय बाँकी रहँदा विराटका गोलरक्षक शंकर खत्री घाइते भएर मैदानबाट बाहिरीएका थिए । उनको ठाउँमा मैदान प्रवेश गरेर उत्कृष्ट गोल बचाउ गरेका विमल चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । योसँगै विराट टेलिभिजन सेमिफाइनलमा प्रवेश गरेको छ । भोलि हुने मकालु टेलिभिजन र नेपाल टेलिभिजनको खेलमा विजेता टिमसँग विराटले सेमिफाइनल खेल्नेछ ।

यस्तै आज भएको अर्को खेलमा सूर्योदय टेलिभिजनले हिमशिखर टेलिभिजनमाथि ६–१ गोल अन्तरको जित हात पारेको छ । सुर्योदय टेलिभिजनलाई जिताउन आशीष उप्रेतीले ३ गोल, बाबु धिमालले २ गोल र जीवन ढुङ्गेलले १ गोल गरे । हिमशिखरबाट एक मात्र गोल मुकेश नेपालले गरेमा थिए । खेलको सुरुवात समयमा नै गोल गरेको हिमशिखर सम्हालीन नसक्दा ६–१ को फराकिलो गोल अन्तरले पराजित भयो । यो खेलमा सूर्योदय टेलिभिजनका मिलन शंकर म्यान अफ दि म्याच घोषित भए । योसँगै सूर्योदय टेलिभिजन सेमिफाइनलमा प्रवेश गरेको छ । भोलि हुने सप्तकोसी एफ एम र दीप खबरको खेलको विजेता टिमसँगै सूर्योदयले सेमिफाइनल खेल्नेछ ।