इटहरीः मोरङको विराटनगर महानगरपालिका १५ स्थित सायरा होटल सञ्चालक जहदा गाउँपालिका ७ घर भएका २८ वर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।

हिजो बिहान ११ः०० बजे सो होटलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटी गई चेकजाँच गरेको थियो । चेकजाँच गर्दा सो होटलबाट लागूऔषध डाइलेक्स डीसी १५ बोतल, नाईट्राभेट ४२ चक्की, स्पास्मो प्रोक्सिभोन २४ चक्की, स्पास ट्रान्कन प्लस ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लागूऔषध बरामद भएपश्चात् उक्त होटलका सञ्चालक साहलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।