झापाः झापाको बिर्तामोडमा आइतबार राति मासु व्यवसायीको हत्या भएको छ ।

हत्या गरिनेमा अर्जुनधारा–६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रकÞुमार मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार मृतक मगर बिर्तामोड ५ स्थित महानन्द चौकमा मासु पसल सञ्चालन गरी बसेका थिए ।

पसलमै बसिरहेका मगरमाथि गएराति ८ः०० बजे धारिलो हतियार प्रहार गरी हत्या भएको एसपी राईले बताए । धारिलो हतियार प्रहारबाट घाँटी र पाखुरामा गम्भीर चोट लागेका मगरको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै परिचालित प्रहरीले घटनास्थल सुरक्षित गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।