इटहरीः राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वका समयमा समेत देशैभर आफ्नो सेवा सुचारु राख्ने भएको छ ।

आयोगका केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दसैं, तिहार र छठको बिदाका बेला पनि बन्द नहुने भएका छन् । आयोगले दसैँ बिदाको अवधिमा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म कार्यालय खुला राखी सेवा दिइने जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आम नागरिकको मानव अधिकार संरक्षणको कार्यमा अवरोध आउन नदिन आयोगले विगतमा झैँ यस वर्ष पनि चाडपर्व बिदामा आयोग खुला राख्ने भएको बताए ।

मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध आउने उजुरी दर्ता गरी कारबाही चलाउने तथा घटनाको गम्भीरता हेरी आवश्यकता अनुसार गर्नुपर्ने अनुगमनले पनि निरन्तरता पाउने आयोगले जनाएको छ ।