इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले कार र सिटीसफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा इटहरी ५ का २३ वर्षीय ईश्वर राउत रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार राति करिब ९ः३० बजे भएको दुर्घटनामा टाउकोमा चोट लागेका उनको विराट नर्सिङ होम उपचारका राति करिब १२ः०० बजे मृत्यु भएको हो । दुर्घटनामा सिटी सफारी चालक झापा दमक–७ का ३४ वर्षीय हेमन्त विक, सुनसरी रामधुनी–३ का ३० वर्षीय दीलिपकुमार चौधरी घाइते भएका छन् ।

उनीहरूको नोबेल र विराट नर्सिङ होममा उपचार भइरहेको छ । त्यस्तै कार चालक इटहरीका ३० सन्दिप राउत, ३५ वर्षीय नगेन्द्र गुरुङ, २४ वर्षीय सौगत अधिकारी, ३५ वर्षीय सुमन मगर घाइते भएका छन् । उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी तिम्सिनाले जानकारी दिए । दुर्घटना गराउने ट्रकका चालक भने फरार रहेकाले उनको खोजी जारी रहेको डीएसपी तिम्सिनाको भनाइ छ । दुर्घटनाग्रस्त तीन ओटै सवारीसाधन नियन्त्रणमा लिई घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २९२४ नम्बरको ट्रकले विपरित दिशाबाट आँउदै गरेको प्र१–०२–२२३ ह १४३६ नम्बरको सिटी सफारलाई ठक्कर दिई भाग्ने क्रममा प्र३–०१–०२४ च ९७२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।