इटहरीः मोरङको बलियामा रहेको गोकर्ण वाटर पार्क एण्ड रिसोर्टले कार्तिक १ गते सोमबार दसैं विशेष कन्सर्ट गर्ने भएको छ ।

बडादसैं तथा दीपावलीलक्षित कार्यक्रममा सम्पूर्ण आगन्तुकलाई पार्क प्रवेश गरेपछि लाइभ म्युजिकमा भने निःशुल्क प्रवेश दिइने रिसोर्टको व्यवस्थापन हेर्ने प्राइड हस्पिटालिटिका प्रमुख कार्यकारी अधिकृत नितेश पोख्रेल बताउँछन् । स्पर्श नेपाल ब्याण्डको प्रस्तुतिका साथमा लाइभ म्युजिकल पार्टी हुने र दसैँ विशेष खानासमेत प्रस्तुत गरिने गोकर्ण रिसोर्टले बताएको छ । सोमबार दिउँसो ३ः०० बजेबाट सुरु हुने कार्यक्रममा लाइभ मःमः, चाट, पानीपुरीजस्ता फास्टफुड राखिने प्राइडले बताएको छ । पूर्वको सुन्दर शहर इटहरीबाट नजिकै सुन्दरहरैँचाको बलियामा रहेको गोकर्ण रिसोर्टमा आयोजना हुने कार्यक्रममा २०० भन्दा बढी आगन्तुक सहभागी हुने आँकलन गरिएको छ ।