इटहरीः जताततै दसैँको रौनक छ । घरघरमा दसैँ भित्रिएको छ ।

तर इटहरी २ को एकैघरका १ सय २ जनालाई भने अष्टमीको दिनसम्म पनि दसैँ आएको थिएन । न नयाँ नाना थियो, न मासु खाना । एक सय दुई जना सडक आश्रित मानवलाई आश्रय दिइरहेको इटहरीस्थित माया घरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिका पुगेपछि मात्र दसैँको आभास भएको छ । उपमहानगरपालिकाको तर्फबाट उपप्रमुख लक्ष्मी गौतम पुगेपछि माया घरमा बल्ल दसैँ आएको छ । अष्टमीको दिन त्यहाँका सबै १०२ जनाका लागि नयाँ लुगा र मासजन्य खानाको व्यवस्थासहित उपमहानगरको तर्फबाट उपप्रमुख गौतम माया घर पुगेकी हुन् ।

245047769_10221913202631948_3954672812396420828_n (2)

उपप्रमुख गौतमले सबैलाई कपडा र खाना वितरण गरिन् । उनले सबै जना घरघरमा दसैँको उमंगमा रमाइरहेका बेला माया घरमा आश्रित एक सय दुई जनाका लागि इटहरी उपमहानगरपालिकाले दसैँको अनुभूति गराउने कोसिस गरेको बताइन् । माया घरकी सचिव सुभद्रा प्याकुरेलले माया घरमा बल्ल दसँै आएको प्रतिक्रिया दिइन् । अप्ठ्यारो परेको बेला उपमहानगरको तर्फबाट सहयोग लिएर उपप्रमुख आइरहँदा माया घरलाई सजिलो हुने गरेको उनको भनाइ छ । माया घरले मानसिक सन्तुलन ठीक नभएर असहाय रुपमा सडकमा बस्न बाध्य महिला तथा बालबालिकालाई आश्रय दिँदै आएको छ ।