इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले कानुनबिना नै कर्मचारीलाई प्रोत्साहान भत्ता बाँडेर गत वर्षको बजेटबाट २८ लाखभन्दा बढी रकम सकाएको पाइएको छ ।

नगरपालिकाले भौचर नम्बर १३४१ बट २०७७ साल जेष्ठ ७ गते र २८ गते क्रमश ३ लाख ५० हजार ४५ रुपैयाँ र १४ लाख रुपैयाँ पोत्साहन भत्ताको नाममा निकासा गरी कर्मचारीलाई नियम मिचेर बाँडेको हो । अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिकाको परिच्छेद ७ को ७ ४ १ बमोजिम अत्तिरिक्त समय र बिदाको दिन काम गर्दा अर्थ मन्त्रालयको स्वीकृति गराएर मात्र खाजा र खाना बापतको रकम भुक्तानी दिनुपर्ने र प्रोत्साहन भत्ता खुवाउनसमेत अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था भएपनि नगरपालिकाले आफ्नो कानूनसमेत नबनाई मापदण्डबिना नै २०७६ माघ महिनादेखि २०७७ असार महिनासम्म १० लाख ५३ हजार ९ सय ७३ रुपैयाँ सकाएको पाइएको छ । नगरपालिकाले प्रोत्साहन भत्ताको नाममा जम्मा २८ लाख ४ हजार १८ रुपैयाँ सकाएको छ । जुन रकमलाई महालेखापरीक्षकको ५८ औँ लेखा प्रतिवेदनले अनियमित भएको भन्दै बेरुजुमा राखेको छ । 

अनुगमन भत्ताको नाममा उपप्रमुख र कार्यपालिका सदस्यले लिए १ लाखभन्दा बढी रकम
नगरपालिकाका उपमेयरलाई अनुमगनको प्रतिवेदन पेस गरिसकेपछि १३ हजार रुपैयाँका दरले अनुगमन भत्ता उपलव्ध गराउने अनुगमन भत्ता सुविधाको व्यवस्था भएपनि एक पटक पदाधिकारी सुविधाको अनुगमन भत्ता लिइसकेपछि दोहोर्याएर अनुगमन भत्ता लिएको पाइएको छ । यसरी अनुगमन भत्ताको दोहोरो सुविधा लिने नगर उपप्रमुख सविना चौधरीले ३५ दिन अनुगमन गरेको भन्दै ३५ हजार रुपैयाँ, कार्यपालिका सदस्य लक्ष्मी चौधरीले २ दिन अनुगमन गरेको भन्दै १ हजारका दरले त्यसैगरी कार्यपालिका सदस्य सर्मिला विकले ३५ दिन अनुगमन गरेको भन्दै १ हजार रुपैयाँका दरले र कार्यपालिका सदस्य टिकालक्ष्मी श्रेष्ठले ३५ दिन अनुगमन गरेको भन्दै १ हजारका दरले जम्मा १ लाख ५ हजार ३ सय ९५ रुपैयाँ बढी भत्ता बुझेको पाइएको छ । बढी भुक्तानी लिएको सो रकम स्थानीय सञ्चित कोषमा फिर्ता गर्न महालेखाले नगरपालिकालाई भनेको छ ।

बैठक नै नबसी बैठक भत्ताः महालेखा भन्छ, ‘बढी रकम फिर्ता गर’
नगर कार्यपालिकाबाट गठन गरिएका विषयगत समितिले महिनामा एक पटक मात्र बैठक भत्ता पाउने कानुनी व्यवस्था भएपनि रामधुनी नगरपालिको कार्यालयले लेखा समितिको बैठक भत्ता भुक्तानी गर्दा २०७६ असार ३ र ६ गते गरी २ बैठक बसेर २ वटै बैठकको बैठक भत्ता लिएको पाइएको छ । पदाधिकारीहरु पुष्पलाल चौधरी, देवराज पोख्रेल, कमल कार्की, सुरेश शर्मा र उमा थरुनीले १ पटक मात्र लिनुपर्ने बैठक भत्ता २ पटक लिएका छन् । यसरी लिएको बैठक भत्ताको रकम कर कट्टि गरी जम्मा ४ हजार २ सय ५० रुपैयाँ असुल गरी स्थानीय सञ्चित कोषमा दाखिला गर्न महालेखाले नगरपालिकालाई निर्देशन दिएको छ ।

बैठक भत्तामा मनपरि, तोकेभन्दा बढी बैठक भक्ता भुत्तानी
नगरपालिकाका पदाधिकारी तथा कर्मचारीले तोकेभन्दा बढी बैठक भत्ता भुक्तानी लिएको पाइएको छ । रामधुनी नगरपालिकाका कर्मचारी र पदाधिकारीले २०७७ असार १६ गते भौचर नम्बर १६९६ बाट तोकेभन्दा बढी बैठक भत्ता भुक्तानी लिएका हुन् । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन अनुसार बैठक भत्ता १ हजार रुपैयाँका दरले भुक्तानी हुनुपर्नेमा ७ जना पदाधिकारीले १ हजार ५ सयका दरले बैठक भत्ता लिएको खुलेको हो । यसरी बढी बैठक भत्ता लिनेमा प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, साथमा हर्षलाल चौधरी, मुना पोख्रेल, द्धारिकाप्रसाद दाहाल र दुर्गेशकुमार विक छन् । यी पदाधिकारीले जम्मा करकट्टि गरी १८ हजार ७ सय रुपैयाँ बढी भुक्तानी लिएको पाइएको छ । यसरी लिएको बढी भुक्तानीलाई समेत महालेखाले असुल गर्न भनेको छ ।

शुभकामना आदानप्रदान गर्दै, बैठक भत्ता लिँदै
रामधुनी नगरपालिको न्यायिक समितिले कानूनमा तोकेभन्दा फरक शीर्षकको बैठक तथा कार्यक्रममा समेत बैठक भत्ता भन्दै साढे ७७ हजार रुपैयाँ झ्वाम पारेको पाइएको छ । नेपालको संविधान २०७२ को धारा २१७ अनुसार कानूनबमोजिम आफ्नो अधिकार क्षेत्रका विवाद निरुपणको लागि उपमेयरको नेतृतवमा रहेको न्यायिक समितिले न्याय निरुपणसम्बन्धी बैठक बस्दा भत्ता पाउने नियम छ । तर यहाँ भने शुभकामना आदानप्रदान, भौतिक सामग्री माग, मेलमिलापकर्तालाई भत्ता दिनेजस्ता शीर्षकमा बैठक बसेको भन्दै बैठक भत्ता लिएको पाइएको छ । यसरी भुक्तानी लिने पदाधिकारीमा उपमेयर सविना चौधरीका साथै रुद्रबहादुर बस्नेत र केशव गौतम छन् । यी पदाधिकारीले २०७७ जेठ र असार महिनामा गरी ७७ हजार ५०० रुपैयाँ बैठक भत्ता मात्र लिएका छन् ।

बस्दै नबसेको बैठकको भत्ता दिएर सकियो १० हजार
नगरपालिकाका पदाधिकारी र कर्मचारीले बस्दै नबसेको बैठक भत्तासमेत लिएको पाइएको छ । २०७७ जेठ १९ गते सेनिटरी प्याड वितरण कार्यक्रमको शिलबन्दी दरभाउ पत्र मुचुल्का खोलेको बैठकको भत्ता रु १५ हजार ९ सय ३० रुपैयाँ लिइसकेपछि पनि पदाधिकारी र कर्मचारीले अर्को भौचरबाट सोही बैठकको भत्ता लिएको पाइएको छ । बस्दै नबसेको बैठकको भत्ता लिने कर्मचारीमा ओमकारप्रसाद न्यौपाने, मोहम्म्द समिम अन्सारी, राजनकुमार गेलाल, नगेन्द्र पौड्याल, विनयकुमार परियार, देवेन्द्रनारायण चौधरी, मुना पोखरेल र चुडामणि दाहाल छन् । यी ८ जनाले लिएको दोहोरो बैठक भत्ता करट्टि गरी हुन आउने १० हजार २ सय रुपैयाँ असुलउपर गर्न महालेखाले नगरपालिकालाई निर्देशन दिएको छ ।

cm shubhakamana.