इटहरीः लामो समयदेखि इटहरीमा रहेर सङ्गीत प्रशिक्षण दिँदै आएका शास्त्रीय संगीतकार भोलासिंह राईको निधन भएको छ ।

मस्तिष्कघात, पारालाइसिस तथा कोरोना संक्रमणबाट ग्रस्त राईको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले जानकारी दिए । हाल इटहरीको गौशाला वृन्दावनस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका संगीतकार राई पछिल्लो एक महिनादेखि अस्वस्थ रहेकोमा आज उनको निधन भएको हो । महासचिव केसीका अनुसार २०५१ सालमा सुनसरीको तत्कालीन अमडुवा गाविसमा बसिरहेका संगीतकार राईलाई २०५२ सालमा इटहरी ल्याई २०५० सालदेखि सञ्चालनमा रहेको संगीत साधना प्रतिष्ठान (तत्कालीन संगीत साधना केन्द्र) मा ल्याई शास्त्रीय संगीतको गायन प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

त्यसको दुई वर्षपछि पोखरा गई संगीत प्रशिक्षणकर्ममै लागिरहे । २०६१ सालमा पोखराबाट काठमाडौँ पुगी संगीत साधनाको कर्मलाई निरन्तरता दिएका राई २०७१ सालमा पुनः इटहरी फर्किएर संगीत प्रशिक्षण केन्द्र स्थापना गरी संगीतकै विकास र विस्तारमा निरन्तर सक्रिय थिए । शास्त्रीय गायनको क्षेत्रमा अद्वित्तीय स्थान बनाएका राईले थुप्रै शास्त्रीय गायकहरु उत्पादन गरी संगीत क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदन दिएका छन् ।