इटहरी: इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ मा भाटभटेनी सुपरमार्केटले आफ्नो १९ औँ शाखाको रुपमा भाटभटेनी सुपर स्टोर खोलेपछि यो क्षेत्रका घरजग्गाको भाउ अचाक्ली बढेको छ ।

घरधनीहरुले व्यावसायिक सटरको भाडामा वृद्धि गरेका छन् भने जग्गाको भाउमा २ सय प्रतिशतभन्दा बढीको वृद्धि भएको पाइएको छ । भीडभाड हुने भएर मान्छेको आवतजावत बढ्ने भएपछि करोडौँ खर्च गरेर आफ्नो व्यवसाय खोल्ने र त्यही वरपर घरजग्गा किन्नेको एक हिसाबले लहर नै चलेको छ । हुन पनि भाटभटेनीले आफ्नो स्टोर सञ्चालनमा ल्याएको दिन भदौ १९ गतेदेखि निरन्तर व्यस्त रहेको यो क्षेत्रमा ट्राफिक व्यवस्थापनमै पनि ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको थियो । अहिले पनि यो स्टोरमा आउने ग्राहकलाई ओसार्ने सिटी सफारी र अटो रिक्साले यो क्षेत्रको सवारी व्यवस्थापन चुनौतिपूर्ण नै छ । नेपालकै ठूलो सुपरमार्केटको रुपमा खुलेको भाटभटेनीले यो क्षेत्रको व्यापारलाई ह्वात्तै बढाउनुका साथै जग्गाको मूल्याङ्कनलाई चुलीमा पुर्याइदिएपछि घरजग्गाको मूल्य नियन्त्रणबाहिर रहेको छ । 

भाटभटेनी खुल्ने खबरसँगै सञ्चालनको तयारीमा रहेको होटल दरबार रेस्ट्रोले बजार बढ्ने सम्भावनासहित १ करोड लगानी गरेको छ । त्यसो त होटल दरबार रेस्ट्रोले आफ्नो सफ्ट ओपनिङ्ग पनि भाटभटेनी खुलेकै दिन गर्न भ्यायो । राजमार्ग नै भएपनि इटहरी बजारबाट निकै पश्चिममा रहेको यो लविपुर क्षेत्रमा यति ठूलो लगानी गर्न हौसिएको होटल दरबारमा तीन जना सञ्चालक छन् । उनीहरुले सम्भावनाको क्षेत्र भएको र यसैलाई आधार मानेर ग्राहकलाई आनन्दको वातावरणसहित मिठो खानाको स्वाद चखाउन लगानी गरेको बताउँदै आएका छन् । त्यसै पनि इटहरीको धरानलाइन र काठमाडौँलाइन अर्थात पश्चिमलाइन महङ्गो लाइनमा पर्ने तर भाटभटेनी बनेदेखि यो क्षेत्रको जग्गाको मूल्य आकासिएको होटल दरबार रेस्ट्रोका सन्चालक राजकुमार राई बताउँछन् । 

यस्तै सम्भावनालाई देखेर भोक्राहामा होटल सञ्चालन गरिरहेका अजहर आलमले भाटभटेनीको अगाडि नै होटल लोटस सञ्चालनमा ल्याएका छन् । आफूले भाटभटेनीलाई देखेरै आफ्नो व्यावसायलाई यो क्षेत्रमा ल्याएको आलम बताउँछन् । सुपरस्टोरमा आउने ग्राहकहरुलाई खाजा र खानाको लागि शान्त वातावरण चाहिने भएकाले त्यो आफूले उपलब्ध गराउने अजहर बताउँछन् । आलमले बिरयानीका पारखीलाई टार्गेट गरेर होटल सञ्चालनमा ल्याएको बताएपनि सबै प्रकारका खाजा र फास्टफुडको बिक्री गर्ने गरेका छन् । भाटभटेनीको अगाडि भएपनि भित्री सडकमा खोलिएको आलमको होटलको भाडा पनि निकै महङ्गो लाग्छ । त्यसो त यो क्षेत्रका सबै सटरका भाडाहरु पनि भाटभटेनीको ओपनिङ्ग र व्यस्ततासँगै बढेको पाइन्छ । उता भाटभटेनी सुपर स्टोरबाट बाहिरिने गेटको अगाडि भोटेको एक्का लाउन्ज एण्ड क्याफे नामको रेस्टुरेन्ट खुल्नै लागेको छ । भोटेको एक्का नाम दिइएको लाउन्ज सञ्चालनमा आउन भने अझै समय लाग्ने देखिन्छ । निर्माणको चरणमा रहेको लाउन्ज के कसरी खुल्न लागेको हो ? त्यो भने बाहिर आएको छैन । तथापि त्यो लाउन्ज पनि भाटभटेनीमा आउने ग्राहकको भीडलाई केही मात्रा भएपनि आफ्नोतिर ल्याउन खुल्न लागेको भने प्रष्ट हुन्छ ।

 भाटभटेनीको प्रदेशद्वारकै अगाडि डुङ्गा नामको रेस्टुरेन्ट पनि सन्चालनमा आएको छ । डुङ्गाले अलिक ठूलो प्रोफाइलका ग्राहकलाई आकर्षित गर्नेगरी आफ्नो डेकोरेसन गरेको देखिन्छ । लविपुर चौकबाट उत्तरतर्फका घडेरीहरु प्रतिधुर १० लाख सम्ममा किनबेच हुने गरेको पाइएको छ । राजमार्गका घडेरी भने अचाक्ली मुल्यवृद्धिकै कारण किनबेच नभएको बुझिन्छ । भीडभाड देखेर सम्भावनाको क्षेत्र भन्दै जग्गाधनीहरुले ठूलो भाउ राख्ने गरेकाले जग्गाको कारोबार नै नभएको स्थानियवासीहरु बताउँछन् । ढल निकाससमेत बनिनसकेको लविपुरबाट उत्तरतिर जाने ग्राभेल बाटोको जग्गालाई धुरको ५ लाख पर्ने गरेको त्यहाँ व्यापार गरेर बसेका स्थानीय सुवास बन्जाराको भनाइ छ । भीडभाड बढी रहने र धेरैजसो ग्राहक भाटभटेनीमा सपिङ्ग गर्न आएपनि खाजा नास्ताको लागि भित्रभन्दा बढी बाहिरै रुचाउने कारणले पनि भाटभटेनी वरपरका क्षेत्रमा होटल रेस्टुरेन्ट खोल्नेको भीड लागेको हो ।

भाटभटेनीको भीडलाई आफ्नोतिर आकर्षित गर्न रेष्टुरेन्ट खोल्नेहरुको भीड बढेपछि जग्गा भाडामा लिने र पूर्वाधार तयार गर्ने गरेको पाइन्छ । यो सुपरस्टोर सन्चालनमा आएदेखि यो क्षेत्रको जग्गाको मूल्य २ सय प्रतिशतसम्म बढेको स्थानीयहरु बताउँछन् । त्यसैगरी, दिउँसो त आइसक्रिम, ठेलामा बेचिने फास्टफुडका व्यापारीले समेत राम्रो नाफा कमाउने गरेका छन् । भाटभटेनीको अगाडि माक्स बेच्ने बालबालिकाले समेत दैनिक ७ सयदेखि एक हजारसम्म कमाइ गर्ने गरेको पाइएको छ । त्यसैको अनुपातमा हेर्ने हो भने पनि यो क्षेत्रको महङ्गीको चित्रलाई प्रष्ट देख्न सकिन्छ ।