काठमाडौँः नवरात्रिको नवौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौं देवी हुन् । देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएका पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा संकबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ । नवरात्रिको पहिलो दिन असोज २१ गते बिहीबार दसैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी, तेस्रो दिन शनिबार चन्द्रघण्टा, चौथो दिन आइतबार कुष्माण्डा, पाँचौँ दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरिएको थियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा आराधना गनुपर्ने अवस्था आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यसैगरी सातौं दिन मंगलबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्नाका साथै दसैं घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो । आठौं दिन बुधबार महागौरी देवीको पूजा आराधना गरिएको थियो भने नवरात्रको नवौं एवं अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ । नवरात्रिका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले दसैं पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रिमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

नवरात्रको सातौं दिनपछि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा त्यसै दिनदेखि भीड बढेको छ । यस वर्ष कोरोना भाइरसको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ । गत वर्ष दसैंमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठ मन्दिर जान र खानपिन गरी दसैं र तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले सार्वजनिक आह्वान गरेका छन् । -रासस