लन्डनः बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरूमा झन् बढेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले बुधबार मध्य जुलाईपछिकै सबभन्दा धेरै संक्रमित देखिएको बताएका छन् । उनीहरूका अनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलोपटक ४२ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । सरकारले अघि सारेका स्वास्थ्यसम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका बाबजुद यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा संक्रमण भएको छ । बेलायतमा अहिलेसम्म संक्रमित संख्या ८२ लाख ७२ हजार नाघेको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ । बेलायतका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि यति धेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजार जना अझै अस्पतालमै उपचाररत छन् । यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । रासस\सिन्ह्वा