टोकियोः जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन् ।

जापानी अधिकारीहरूले बिहीबार बसेको बैठकलगत्तै संसद विघटन भएको जानकारी दिएका हुन् । यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ । सत्तारूढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए ।

लगत्तै उनले अर्काे आमनिर्वाचनको तयारी थालेका थिए । किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले तुरून्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका छन् । उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्न आमनिर्वाचनमा आमनागरिकको सहयोग आवश्यक रहेको बताएका छन् । देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रम ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग उनले आग्रह गरेका छन् । -रासस\सिन्ह्वा