© गणेश खड्का
दशैं ऊबेला
दश गाउँ थर्काएर आउँथ्यो
बाटाघाटा र घरगाउँ सिंगारेर आउँथ्यो
बेहुली बन्थे बस्तीहरु
दशैंमा घर आउँन पाउने-नपाउने
परदेशीको निधो
बर्खा नलाग्दै थाहा हुन्थ्यो
दशैं त्योबेला खुलेर आउँथ्यो
दशैं योबेला लुकेर आउँछ l
दशैं वर्षदिनपछी एकफेर छेउमै आउँछ
र, भोका पेटहरुलाई हाउगुजी देखाएर
नाङ्गा आङहरुलाई काउकुती लाएर
संस्कृतिको उधारो तमसुक गरिदिन्छ
अनि, सुइकुच्चा ठोक्छ एक वर्षको बाटोमा l
दशैंका पूर्वसन्ध्याहरु
कहिले भुइँचालोले खर्लप्पै खाईदिन्छ
कहिले बाढीपहिरोले सर्लक्कै निलिदिन्छ
तब, धड्किन्छन् निर्धा मुटुहरु
अधिकतम रेक्टरस्केलभन्दा अधिक
घर लिपपोत गर्ने र बाटाघाटा सिंगार्ने उमङ्गहरु
दशैं आउनुपूर्व नै शोकाकुल बन्छन्
भवितव्यमा दिवंगत आफन्त मनहरुको क्षतिमा l
दशैँ, पहिले सार्वजनिक थियो
दशैं, अहिले एकान्तबासमा छ
पहिलोचोटि पर सरेकी
छाउपडी युवतीजस्तो
कोहि नजानू दशैंको छेउमा
दशैंलाई कोरोना लागेकोछ
दशैं क्वारेन्टिनमा छ l
यसपाली दशैं किन्न
हाटबजार नधाउनू
मिठो खाना र नयाँ नाना लिन
सुपरमार्केट नजानू
परदेशीको सन्देश पनि परैबाट पढ्नू
पाहुनालाई दुर्गा भवानीको कथा होइन
डब्लुएचओको हेल्थ नोटिस सुनाउनू l
समय यतिबेला
आफ्नो हत्या आफैं गरेर
आफ्नो क्रियापुत्री पनि
आफैं बसेकोछ
मान्छे आफ्नो युद्दशिकारको
बरखी आफैं बार्दैछ
क्रुर समयको कैदी बनेर दशैं पनि
कठोर क्वारेन्टिनमा बसेको बेला
मान्न त मान्नु
परम्पराको पहाड दशैं
तर खसीले होइन, खुशीले
रहर होइन, यो कहर दशैं l
***
इटहरी ४ सुनसरी, नेपाल
हाल : फ्रिगेट आइल्याण्ड, सेसेल्स