अफगानिस्तानको कान्दाहार सहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ ।

सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रबारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो। शुक्रबार अपराह्न एकैपटक तीन वटा विस्फोट भएको थियो । विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अरू ६८ जना घाइते भएका छन् । उक्त मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा देखिएका तस्बिरहरू सार्वजनिक भएका छन् । तीन जना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एक जना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएका हुन् । अरु दुई जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेको थियो । शुक्रबारको साप्ताहिक प्रार्थना भएकाले मस्जिद पूरै भरिभराउ थियो । सोही मौका छोपेर यस्तो हमला गराइएको अनुमान गरिएको छ । तालिबानका सशस्त्र लडाकूहरूले पनि घटनास्थलमा सुरक्षा दिइरहेको बताएको छ । साथै यहाँका मस्जिदमा हिंसात्मक हमला हुने गरेकाले सुरक्षाकर्मीहरूले पनि मस्जिदमा सुरक्षा दिइरहेको बताइएको थियो । -रासस\सिन्ह्वा