फुङ्लिङः विषालु सर्पको डसाइबाट आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी छन् । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए । दसैंको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो । अचानक हातमा सर्पले डसेपछि सुरूमा घरमै झारफुक र घरेलु औषधि गराइएको थियो । विषले जटिल बनाउँदै लगेपछि आज बिहान बल्ल उनका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएका थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । -रासस