बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ ।

छुरा प्रहार गरेर उनको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ । सांसद डेभिडको उनको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो । उनको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा मतदाताहरूसँगको भेटघाटका क्रममा छुरा प्रहार गरिएको थियो । हत्याको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । त्यस स्थलबाट प्रहरीले चक्कु भेटेको जनाएको छ ।

प्रहरीले यस हत्यामा संलग्नलाई पक्राउ गरेको र अनुसन्धान जारी रहेको बताएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले टोलीले यसमा आतंकवादीको हात रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एक राम्रा राजनीतिज्ञ गुमाउनु परेको भन्दै त्यस दुःखद निधनप्रति शोक व्यक्त गरेका छन् । सांसद डेभिड ६९ वर्षका थिए । उनी सन् १९८३ देखि सांसद रहेका थिए । -रासस\सिन्ह्वा