इटहरीः मुस्लिम मुक्ति मोर्चा नेपालको प्रदेश १ को बैठकले गए साता सुनसरी प्रहरी बन्दीगृहभित्र भएको मो. हकिम शाह मृत्यु प्रकरण सम्बन्धमा उच्च स्तरीय छानबिनको माग गर्ने निर्णय गरेको छ ।

आज बिहान इटहरीमा बसेको मोर्चाको प्रदेश समिति बैठकले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा गठित छानबिन समिति खारेज गरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत् सम्पूर्ण प्रहरीहरूको समेत छानबिन हुने गरी उच्च स्तरीय छानबिन समिति गठन गरी छानबिनको दायरा फराकिलो बनाउन सरकारसँग अपील गर्ने निर्णय गरेको छ ।

मोर्चाको बैठकले आक्रोस भीड र प्रदर्शनले विष्णु शर्मा (केटीका पिता) को घरमा आक्रमण गरी आगो लगाउनुलाई गलत कदम भएको ठहर गर्दै यस प्रकरणमा बैज्ञानिक छानबिनलाई अन्यत्र मोड्न खोजिएको समेत आरोप लगाएको छ ।

“हकिमको मृत्यु हत्या हो कि आत्महत्या यसको छानबिनमा कम र सामाजिक सद्भावको कुरामाथि बढी फोकस गरेर घटनाको वास्तविकतासम्म कहिल्यै पुग्न सकिने छैन । घटना भएको दिनदेखि यस्तै खेल भइरहेको छ । घटनाक्रमलाई गौण विषय बनाउन ठूलै ग्र्याण्ड डिजाइनमा काम भइरहेको छ“; मोर्चाको बैठकपछि मोर्चाका प्रदेश १ ईञ्चार्ज तथा पूर्व राज्यमन्त्री जाकिर हुसैनले खुलेर बोलेका छन् ।

उनले हामीसँग कुराकानी गर्दै भने, “जहाँ घटना भयो त्यहाँका सबै मानिस सन्देहको घेरामा हुनु सामान्य सिद्धान्त हो । त्यो भएर त्यहाँका प्रत्येक सुरक्षाकर्मीहरूमाथि छानबिन हुनुपर्छ । हकिमलाई जति दिन थुनामा राखियो, त्यस अबधिका सम्पुर्ण अभियुक्तहरूसित स्वतन्त्र सोधपूछ गर्न त्यहाँका सुरक्षाकर्मीहरूलाई अनुसन्धानको दायरामा ल्याउनु पर्छ; अनुसन्धानको दायरामा ल्याउने विधिको प्रयोग हुनुपर्छ ।“

बैठकपछि पूर्वमन्त्री हुसैनले वर्तमान छानबिन समितिलाई धोका भनेका छन् । उनले छानबिनलाई मत्थर पार्न छद्म शक्तिले साम्प्रदायिकता र धार्मिक सद्भावको विषयतर्फ आम जनताको सोचलाई मोड्न खोजेको आरोप लगाएका छन् ।

मोर्चाको बैठकमा मोर्चाका नेताहरूले माओवादी पार्टीमा लागेको नेता कार्यकर्ताहरूले पिडित जनताको आवाज उठाउन पछि हट्न नहुने विषय चर्काे रूपमा उठेको उनले बताए ।