इटहरीः धनकुटाको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारबाट उडेको पाराग्लाइडर दुर्घटना हुँदा पाराग्लाइडरमा सवार पर्यटक घाइते भएका छन् ।

घाइते हुनेमा सुनसरीको धरान उपमहानगरपालिकाका वडाध्यक्षसमेत रहेका ४८ वर्षीय रोशन अधिकारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज दिउँसो आएको हावाहुरी सहितको पानीले पाराग्लाइडर उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच नजिकैको सप्तकोसी नदीको किनारामा खसेपछि अधिकारी घाइते भएका हुन् ।

घाइते अधिकारीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । पाराग्लाइडरबाट खसेका अधिकारीको ढाडमा समस्याबाहेक अन्य कुनै चोटपटक नरहेको प्रतिष्ठान स्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।