काठमाडौँः नेपालीहरुको महानचाड बडादसैँमा बन्द भएका सरकारी कार्यालय खुलेका छन् ।

राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको चाप केही बढेको छ । दसैँमा सुनसान बनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ । सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिएको छ । विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त हुन थालेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालय पुगेर नियमित काममा व्यस्त रहेको कार्कीका स्वकीय सचिव रामजी थापाले जानकारी दिए ।

अन्य विभागीय मन्त्री पनि नियमित काममा फर्किएन थालेका छन् । दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लोरूपमा देखिएको छ । उपत्यकामा औषधि,खाद्यान्न,दूध तथा तरकारीका पसल खुलेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ । दसैँ मनाउन गाउँघर गएका सर्वसाधरण पनि धमाधम काठमाडौँ भित्रिरहेका छन् । कोटेश्वर, कलङ्की,गोङ्गबु,बल्खुलगायत नाकामा दसैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ । मानिवसको चहलपहल र सवारीसाधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेका छन् । -रासस